१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भीमेश्वर नगरपालिकाको बजेट ८६ करोड ७३ लाख



चरिकोट : भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि करिब ८७ करोडको बजेट सार्वजनिक गरेको छ । सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाको सातौं नगरसभामा बुधबार उपप्रमुख कमला बस्नेतले ८६ करोड ७३ लाख ४८ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।

उपप्रमुख बस्नेतले सार्वजनिक गरेको बजेटअनुसार चालुतर्फ ८ करोड ५० लाख, पूँजीगततर्फ ७८ करोड ८ लाख ४८ हजार र वित्त व्यवस्थापनतर्फ ५ लाख विनियोजन गरिएको छ । क्षेत्रगत रुपमा आर्थिक विकासमा १० करोड ४५ लाख ५ हजार, सामाजिक विकासमा ३३ करोड ६१ लाख ३३ हजार, पूर्वाधार विकासमा ३२ करोड १७ लाख ५ हजार विनियोजन गरिएको छ।

वन, वातावरण र विपद् व्यवस्थापनमा १ करोड २ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास (कार्य सञ्चालन तथा प्रशासनिक खर्च समेत)मा ९ करोड ४७ लाख ५५ हजार विनियोजन गरिएको भीमेश्वर नगरपालिकाकी उप्रमुख कमला बस्नेतले बताइन् ।

भीमेश्वर नगरलाई संघीय सरकारबाट ५६ करोड ५७ लाख, बागमती प्रदेश सरकारबाट ८ करोड ६९ हजार, संघीय राजश्व बाँडफाँडबाट ८ करोड ४३ लाख १९ हजार ३५० तथा बागमती प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड २४ लाख ५३ हजार रकम प्राप्त हुने सहित गरी आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

विगत ३ वर्षदेखि खर्च गर्न नसकेर चालु आर्थिक वर्षसम्म ’डम्प’ भएर बसेको ७ करोड ९८ लाख ६ हजार ६५० लाई पनि उपप्रमुख बस्नेतले बजेटमा समावेश गरेकी थिइन् । २ करोड ५० लाख आन्तरिक स्रोतबाट आम्दानी हुने नगरको अनुमान छ । अनुमानित आय( व्यय विवरणमा १५ लाख रुपैयाँ न्यून हुने नगरपालिकाको अनुमान छ ।

प्रतिशतका हिसाबले आर्थिक विकासमा १२ दशमलब ०४, सामाजिक विकासमा ३८ दशमलब ७५, पूर्वाधार विकासमा ३७ दशमलब ०९, वन वातावरण र विपद् व्यवस्थापनमा १ दशमलब २० र सुशासन तथा संस्थागत विकासमा १० दशमलब ९२ प्रतिशत खर्च हुने उपप्रमुख बस्नेतद्वारा नगरसभामा प्रस्तूत बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार ००:००  ६ : ०६ बजे