- सिर्जना पाख्रिन
भीमेश्वर नगरपालिकाले आगामि आर्थिक वर्ष २०७८/७९ मा पर्यटन प्रवर्द्धनका लागि १० लाख छुट्याएको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख कमला बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सो रकम छुट्याएको हो ।
नगरभित्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटनको विकास र सम्भावित गन्तव्यलाई प्रवद्र्धन उदेश्यका साथ आगामि आर्थिक वर्षको लागि सो बजेट विनियोजन गरिएको हो ।
पर्यटनमार्फत आर्थिक बृद्धि र रोजगारी सिर्जना गर्ने नीति अनुरुप ‘एक वडा एक पार्क’ निर्माण गर्ने, पर्यटकीय स्थलहरूको पहिचान, प्रचार प्रसार र पूर्वाधार निर्माण तथा विकास गर्ने, भीमेश्वर प्रवेशद्वारमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम सतेत प्रस्ताव गरिएको छ ।
यस्तै, मञ्जुश्री – विश्व शान्ति बुद्ध पार्क पदमार्ग, थामी सङ्ग्रहालय – विश्व शान्ति बुद्ध पार्क पदमार्ग र वृन्दा वन – साहित्यिक पार्क पदमार्ग निर्माण गर्ने, हात्तिछहरामा ‘स्काइ वाक’ र ‘नेगल–मार्वु झोलुङ्गेपुल बञ्जिजम्प’ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ ।
पर्यटकहरूको सुरक्षाका लागि सोलार बत्ति, सडक वत्ति, सीसीटीभी आदिको व्यवस्था गर्ने, भीमेश्वर प्रवेशद्वार निर्माण सम्पन्न गर्ने, नगरपालिकाको वडा नं. ९ डाँङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माणको कार्यलाई प्रदेश तथा सङ्घीय सरकारसँगको साझेदारीमा अगाडि बढाउने, भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर र जनकपुरधामबीचको धार्मिक पर्यटकीय परिपथमार्फत पर्यटन विकास गर्ने लक्ष्य लिएको छ ।
आस्थासँग जोडौँ सम्पदालाई; पदमार्ग खोलौँ पर्यटकलाई’ भन्ने नारा सार्थक बनाउन कार्यक्रमहरू सञ्चालन गरिने छ ।
भीमेश्वर नगरपालिकाको नवौँ नगरसभाले आगामि आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ ।