१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शम्भु तामाङ र कामीरितालाई सगरमाथा पुरस्कार, ७ जनालाई तेन्जिङ हिलारी पुरस्कार



काठमाडौँ – सगरमाथा र तेन्जिङ–हिलारी पुरस्कार घोषणा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो पुरस्कारका लागि आइतबार ९ जना आरोहीको नाम चयन गरेको हो ।

पर्यटन विभागका निर्देशक मिरा आचार्यका अनुसार पुरस्कार समितिको सिफारिसका आधारमा लामो समयसम्म ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड कायम राख्न सफल शम्भु तामाङलाई सन् २०२० का लागि र सन् २०२१ का लागि सर्वाधिक सगरमाथा आरोहण गर्ने कामीरिता शेर्पालाई १ लाख राशीको सगरमाथा पुरस्कार प्रदान गरिने भएको छ ।

https://www.youtube.com/watch?v=EE-TUJRqHh4

१७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका तामाङको रेर्कड २९ वर्षपछि सन् २००१ मा तेम्बाछिरी शेर्पाले ब्रेक गरेका थिए । त्यस्तै कामीरिता शेर्पाले यसै वर्षको वसन्तकालीन याममा २५ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै २४ औं पटकको विश्व रेकर्ड ब्रेक गरेका थिए ।

त्यसैगरी ५० हजार राशीको तेन्जिङ हिलारी पुरस्कार ७ जना आरोहीलाई प्रदान गरिने भएको छ । जस अन्तर्गत सन् २०१९ अघि नै विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरि सकेर पुनः दोस्रो पटक यी हिमाल आरोहणमा लागिरहेका सानु शेर्पालाई सन् २०२० को तेन्जिङ हिलारी पुरस्कार प्रदान गरिने भएको छ । एकै सिजनमा एकै साथ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दम्पती आङ्दावा शेर्पा र पासाङ फुटी शेर्पा र ३७ वर्षको उमेरमा २२ पटक सगरमाथा आरोहण गरिसकेका ङिमा नुरु शेर्पाले पनि २०२० को तेन्जिङ हिलारी पुरस्कार पाउने भएका छन् ।

सन् २०२१ को तेन्जिङ–हिलारी पुरस्कार दोलखाका मिङ्मा ग्याल्जे शेर्पा, फून्जो जाङ्मु लामा र सर्मिला लामालाई दिइने भएको छ ।
पर्यटन विभागका महानिर्देशक रुद्र तामाङको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार समितिको सिफारिसका आधारमा आइतबार पर्यटन मन्त्री लिलानाथ श्रेष्ठले दुई वर्षदेखि रोकिएका पुरस्कार प्राप्त गर्ने ९ जना आरोहीहरुको नाम चयन गरेका हुन् ।

सन् १९५३ मे २९ का दिन विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको दिनलाई स्मरण गर्दै यी पुरस्कार हरेक वर्ष २९ मेका दिन विश्वभर मनाइने सगरमाथा दिवसका अवसरमा नेपाल सरकारले प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार ००:००  १० : २४ बजे