७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पर्यटन व्यवसायीद्धारा स्वास्थ्य राज्यमन्त्रीलाई क्वारेन्टाइन हटाउन माग



काठमाडौं । पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्त रूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
कोरोनाका कारण करिब २ वर्षदेखि शिथिल बनेको पर्यटन क्षेत्रको पुनः सुरुवातका लागी छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका हुन ।

नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायिहरुले खोपको मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहाने पर्यटकलाई पिसिआर गराई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् । कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेपनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुन सुचारु गर्नुपर्नेमा व्यवसायिहरुले जोड दिएका छन् ।

त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरुले माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्यासँग आफू जानकार रहेको र फ्रन्टलाइनरलाई खोप लगाउन कसरत गरिरहेको बताए ।

क्वारेन्टाइनको व्यवस्था हटाउन छलफल भइरहेको मन्त्रीको भनाई थियो । विशेष पर्यटकिय गन्तव्यका स्थलका सर्वसाधारण हरुलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकिय गन्तव्यहरुलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको मन्त्रीको दावी थियो ।

पर्यटन सरोकार संस्थाहरुले बारम्बार क्वारेन्टाइन हटाउनुपर्ने माग र खोपको माग गर्दै सरकारको ध्यानकर्षण गरेपनि कार्यन्वयन पक्ष कम्जोर देखिएको छ । सेप्टेम्बर र अक्टोबमा पर्यटकीय क्षेत्र र संस्थाहरु खुलेन्नन् भने पर्यटन व्यवसायिहरु पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यहाँबाट रोजगारी पाएका जनशक्ति सँगै सबैको लगानी नै खतरामा पर्ने टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताए ।

नाटा का अध्यक्ष अच्युत गुरागाईंले व्यवसायिहरु सूचनबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेको कुरा जानकारी गराउँदै सीसीएमसीको टीममा एक जना भएपनि पर्यटन व्यवसायीलाई समेट आग्रह गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार ००:००  ८ : ०३ बजे