काठमाडौं । नेपालको हवाइ क्षेत्रलाई निरन्तर कालोसूचीमा राखेको युरोपेली संघ (ईयू) को टिम काठमाडौं आउने भएको छ । नेपाली हवाइ क्षेत्रको अन साइट अडिट गर्न ईयुको टोली काठमाडौं आउन लागेको पत्र मार्फत जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)ले नेपालको हवाइ क्षेत्र सुरक्षित रहेको बताइसके पनि ईयूले कालोसूचीबाट नेपाललाई हटाएको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पटक–पटक नेपाललाई कालोसूचीबाट हटाउन ईयूसामु माग गर्दै आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आइतबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा भने, ‘शुक्रबार ईयूले पत्रमार्फत हामी आउँदै छौँ भनेको छ । त्यसपछि कालोसूचीबाट हट्ने नहट्ने थाहा हुन्छ।’
ईयूको कालोसूचीमा भएकाले नेपाली जहाजले ईयूको आकाश प्रयोग गर्न पाएको छैन। नेपालका जहाजहरुले ईयूबाहेक अन्य देशहरुमा भने उडान गर्दै आएका छन्। नेपालबाट मुख्यगरी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।