१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्याे पर्यटकको चहलपहल



काठमाडाैं ।  विश्वव्यापी काेराेना महामारीबाट थला परेकाे पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिन थालेकाे छ । नेपालमा बाह्य पर्टककाे  आगमन पनि बढेकाे छ । पछिल्लाे सात महिनामा करिब तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटककाे  आगमन बढेसँगै नेपालका पर्यटकीय क्षेत्रहरूमा पुग्ने पर्यटककाे सङ्ख्या पनि बढ्न थालेकाे छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन् । जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो । आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए । जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा अलि बढेर दुई हजार ९३५ पुग्यो तर तीन जना विदेशी पुरुष तथा सार्क राष्ट्रका दुई जना महिला र तीन जना पुरुष मात्रले शुक्लाफाँटाको अवलोकन गरेका थिए । बाँकी सबै आन्तरिक पर्यटक रहेको निकुञ्जले जनाएकाे छ ।

कोभिड सुरु हुनुभन्दा पहिले आर्थिक वर्ष २०७५/७६ मा शुक्लाफाँटामा आन्तरिक तथा बाह्य गरेर १२ हजार १३८ जनाले शुक्लाफाँटाको भ्रमण गरेको तथ्याङ्क छ । त्यस्तै ०७४/७५ मा चार हजार सात सय जना पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए । शुक्लाफाँटामा विशेष गरेर जङ्गल सफारी, रानीताल अवलोकन, चराको अवलोकन, एसियाकै दोस्रो ठूलो घाँसे मैदानको अवलोकन, हात्तीमा सफारी, झुण्डमा बाह्रसिङ्गाको अवलोकन, चितल, कृष्णसार, सिंहपाल बाबा मन्दिर र बाघलगायत जङ्गली जनावरको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ००:००  १० : ५५ बजे