१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बक्याैता नबुझाएपछि प्राधिकरणकाे कालोसूचीमा निकोन एयरलाइन्स



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले निकोन एयरलाइन्सलाई कालोसूचीमा राखेको छ । निकोनले करिब पाँच करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले कालोसूचीमा राखेको हो ।

आगामी दिनमा कम्पनी र यसका सञ्चालकहरूलाई हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धीत कुनै किसिमका काम कारवाही तथा व्यापार व्यवसायमा नै प्रवेश हुन नपाउने गरी कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ ।

‘लामो समयमसम्म पनि सम्पर्कमा नआएपछि निकोनलाई कालोसूचीमा राखिएको हो’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘यसपछि पनि सञ्चालकहरु सम्पर्कमा आएनन् भने विदेश आवतजावतमा रोक लगाइनेछ।’

प्राधिकरणका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोनले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ छ।

२०६० सालबाट यो एयरलाइन्स सञ्चालनमा छैन। एयरलाइन्सले सेवा बन्द गरेदेखि नै सञ्चालकहरू सम्पर्कमा आएका थिएनन्।

यसअघि प्राधिकरणले कम्पनी रजिष्ट्रार कार्यालयबाट सबै एयरलाइन्सको तथ्यांक संकलन गरेको थियो।

निकोन एयरलाइन्सको पछिल्लो अवस्थाको अद्यावधिक विवरण कतै पनि नपाइएपछि यस कम्पनी सम्बन्धी कुनै पनि विवरण भए उपलब्ध गराइदिन प्राधिकरणले राष्ट्र बैंक र मालपोतमा पत्राचार समेत गरेको थियो।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ००:००  २ : ०८ बजे