१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गौरीशंकरको छम्बा र यार्जाङ गुम्बा भव्य समारोहबीच उद्घाटन हुने



चरिकोट । गौरींशकरण गाउँपालिका ७ मा निर्माण गरीएको छम्बा र यार्जाङ गुम्बा भव्य कार्यक्रमकाबीच उद्घाटन हुने भएको छ । माघ २७ र २८ गते भव्य कार्यक्रमकाबीच उद्घाटन हुने भएको हो ।

गुम्बा उद्घाटनका लागि महेश्वर गुम्बाका प्रमुख छ्योक्टुल ग्याङखाङ रिम्पोर्छे पाल्नु हुने गुम्बा समितिले जनाएको छ । छम्बा गुम्बा मार्बु र यार्जाङ गुम्बा सिक्पाश्वरमा निर्माण गरिएको हो ।

माघ २७ गते धार्मिक पूजा पाठसहित छम्बा गुम्बा उद्घाटन गरिने छ । सो दिन लामा गुरुद्धारा सर्वसाधरणलाई वाङ दिने कार्यतालिका छ । यसपछि मंगोलियन हार्टका राजु लामाको विशेष साँस्कृतिक कार्यक्रम रहने छ ।

२८ गते यार्जाङ गुम्बा उद्घाटन हुने गुम्बा समितिले जनाएको छ ।

२०७६ को बुद्ध जयन्तीको अवसरमा सो गुम्बा निर्माण सुरु गरिएको थियो । यार्जाङ गुम्बा दुई रोपनी जग्गामा निर्माण गरिएको हो । उक्त गुम्बा निर्मााणका लागि करिव एक करोड ५० लाख खर्च भएको प्रमुख लामा तथा खेन्पो पेम छिरिङ शेर्पाले जानकारी दिए । यस्तै, छम्बा गुम्बा सात रोपनी जग्गामा ३ करोड ५० लाख खर्चमा निर्माण सम्पन्न गरिएको हो ।

गुम्बा निर्माणमा सहयोग

गुम्बा निर्माणका लागि गौरीशंकर गाउँपालिकाले ५ लाख सहयोग गरिएको छ । २०७४ को स्थानीय निर्वाचिनबाट निर्वाचित वडा अध्यक्ष आङ दोर्जे शेर्पाको कार्यकालमा गुम्बाका १५ लाख बजेट व्यवस्था गरिएको थियो । उनले पाँच वर्षको अवधिमा सो बजेट व्यवस्था गरेका थिए ।

पुर्व सञ्चारमन्त्री पार्वत गुरुङको तर्फबाट १५ लाख, बागमती प्रदेशबाट छम्बा गुम्बालाई ३० लाख र यार्जाङ गुम्बाका लागि १८ लाख सहयोग प्राप्त भएको थियो ।

गुम्बाको पहिलो दाता

सो गुम्बा निर्माणका लागि पुर्व वडा अध्यक्ष आङ दोर्जे शेर्पाले एक लाख ५१ हजारका दरले तीन लाख दुई हजार रुपैँया चन्दा सहयोग गरेका थिए । यसपछि मात्रै गुम्बा निर्माणको लागि हातेमालो अभियान सुरु भएको प्रमुख लामा शेर्पाको भनाई छ ।

भुटानी नागरिकको सहयोग

गुम्बा निर्माणको लागि भुटानी नागरिकहरुको ठूलो सहयोग रहेको छ । प्रवासमा रहेर प्रमुख लामा खेन्पोसँग नजिक भएका कारण उनीहरुले सहयोग गरिएको हो । गुरुङ र तामाङ समुदायको आर्थिक सहयोग उल्लेख्य मात्रामा रहेको छ । खेन्पो गुरुङको विद्यार्थीहरुको सहयोग समेत रहेको छ ।

अमेरिका बसोबास गर्दै आएका भीम गुरुङको भूमिका प्रमुख रहेको खेन्पोको भनाई छ । युनाइटेड मंक एसोसिएन अफ अमेरिकाको (लामाको संस्था) विशेष सहयोग रहेको छ ।

पोर्चुगलबाट धनराज शेर्पा र सम्फुरी शेर्पाले सहयोग गरिएको छ । उनीहरुले यार्जाङ गुम्बा निर्माणका लागि विशेष भूमिका खेलेको थियो । साथै विभिन्न देशका शुभेच्छुक शुभचिन्तक र समाजसेवीहरुले गुम्बा निर्माणमा सहगोग गर्नु भई पुण्य प्राप्त गरेको खेन्पोको भनाई छ ।

दोलखाको नमुना र उत्कृष्ट गुम्बा

दोलखा जिल्लाकै नमुना र उत्कृष्ट गुम्बा निर्माण भएको खेन्पो पेम छिरिङ शेर्पाको भनाई छ । दुई वटै गुम्बाको निर्माण संरचना, तात्विक वस्तु र लेखन र फिनिसिङको हिसावले गुम्बा उत्कृष्ट रहेको बताए । यसमा लोपेन रत्न कुमार गुरुङ र रंग रोगन गर्नु हुने शैलुङ घ्याङका छिरीङ तामाङको विशेष भूमिका छ ।

#Chhamba_Gumba #Yarjang_Gumba #Marbu_Sikpashowr #Gaurishankar

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार ००:००  ६ : ३५ बजे