२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

इन्द्रजात्रा : आकाश भैरवको मुखबाट छ्याङ पिउने परम्परा (फोटो फिचर)



शब्द/तस्बिर: अर्जुन पाख्रिन

काठमाडौँ–इन्द्रजात्राको राती बसन्तपुर क्षेत्रमा विशेष जात्रा लाग्छ । यो जात्रा काठमाडौँको प्रमुख जात्रा हो। काठमाडौंको इन्द्रजात्रा हनुमानढोका दरबार क्षेत्र वरिपरिमात्रै केन्द्रित छ । हुन्छ । यसकारण यो जात्रा विशेष पर्व पनि हो ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको आकाश भैरवको अजंगको मुखाकृति इन्द्रजात्राको मुख्य आकर्षण हो । इन्द्रजात्राको अवसरमा आकाश भैरवको मुखबाट जाँड खन्याउने र उक्त जाँड खान भक्तजनहरुबीच तँछाडमछाड हुन्छ ।

आकाश भैरव देवताको प्रसादको रुपमा उक्त जाँड खाने युवायुवतीहरुको समेत ठूलै भीड लाग्ने गरेका छन् ।

देवताका राजा इन्द्रलाई चोर सावित गरी कान्तिपुरवासीले माग पूरा गर्न बाध्य पारेकोे दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। यसरी हेर्दा इन्द्रजात्रा पराजित इन्द्रको सम्मानमा आयोजित स्थानीय नागरिकको विजयको जात्रा हो।

जात्रामा बाजागाजा, पल्टन, धिमे आदिको सुमधुर स्वरका बीच हर्षोल्लास हुन्छ। रथयात्रा र पूजाआजा सम्पन्न गरिन्छ। यस अवसरमा विभिन्न मुकुण्डो नाचका टोलीहरू आफ्नो कला प्रदर्शन गर्दै हिँड्छन्। तीमध्ये लाखे, सवः भक्कू, महाकाली नाच, पुलुकिसी आदि लोकप्रिय छन्। यी नाच अरू बेला पनि विभिन्न चोकमा नचाइन्छ।

यःसि ठड्याउने, दबू प्याख ‘लाखे प्याख’, इन्द्रलाई बाँधेर राख्नेजस्ता उत्सव र गुठी पूजालगायत जात्राका आकर्षण हुन्। पाल्चामा बत्ती बाल्ने उपाकु वनेगु कार्यक्रम हुन्छ। भजन मण्डलीको छुट्टै कार्यक्रम हुन्छ। त्यसैले, यो एउटा उत्सव मात्र होइन, थुप्रै उत्सवको संयोजन हो भन्न सकिन्छ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ११ : ३९ बजे