नयाँ पर्यटकीय गन्तव्य ‘ब्रोम्दिङ’ को राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको ब्रोम्दिङ पर्यटन महोत्सवले ब्रोम्दिङ घुम्नका लागि निम्तो गरेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा रहेको ब्रोम्दिङ डाँडा(थुम्काहरु) को प्रचारप्रसार गर्ने उदेश्यले कार्तिक १५ र १६ गते ‘पर्यटन महोत्सव’ गरिएको थियो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले महोत्सवको उद्घाटन गर्दै यहाँको विकास, प्रवद्र्धनका लागि सदैव तत्पर रहेको बताए ।
यहाँको सडक निर्माणको लागि बजेट व्यवस्था गरेसँगै निर्माण प्रक्रिया अघि बढेको मुख्यमन्त्रीको भनाई थियो ।
‘नेपालकै प्रसिद्ध ठाउँ हो, ब्रोम्दिङ । यहाँबाट हिमश्रृंखला देख्नुको साथै सन्दुर प्राकृतिक डाँडाकाँडा देख्न सकिन्छ,’ मुख्यमन्त्री जमरकट्टेलले भने,‘अबको दुई वर्षमा यहाँको सडक सम्पन्न हुन्छ । यहाँहरु सबैलाई स्वागत गर्न चाहान्छु । सबैलाई निम्तो छ ।’

आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङले यहाँको विकासका लागि मुख्यमन्त्रीसँग सल्लाह गरेर बजेट व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए ।
बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा महोत्सव भएको हो । २०८० मिटर उचाईमा रहेको ब्रोम्दिङ आफैमा प्राकृतिक सुन्दरताले भरिएको डाँडा हो । जहाँबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला हेर्न सकिन्छ ।
तामाङ बस्तीको बाहुल्यता र चेपाङ बस्ती समेत रहेको ब्रोम्दिङ आफैमा प्राकृतिक सुन्दर ठाउँ हो ।
राजधानी काठमाडौँबाट करिव चार घण्टाको मोटर यात्रामै पुग्न सकिन्छ । नागढुंगा–मुग्लिन सडकखण्डको विशालटारबाट २३ किलोमिटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थमभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।

ब्रोम्दिङ डाँडाबाट हेटौंडा, रक्सौल, धादिङका विभिन्न ठाउँ देखिन्छन् । आँखैअगाडि सेतै हिमाल प्रष्टसँग देखिने ब्रोम्दिङ मकवानपुर, धादिङ र चितवनको सीमा पनि हो । मकवानपुरको कैलाश गाउँपालिका, धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको केन्द्रका रुपमा ब्रोम्दिङ गाउँ रहेको छ ।




