अर्जुन पाख्रिन
चरिकोट । दोलखा बजारको मध्ये भागमा ‘भीम पुस्तकालय’ थियो । यहाँबाट शैलुङको थुम्का र प्राचिन शहर द्वाल्खाको स्तुपा एकै साथ हेर्न सकिन्थ्यो । पुस्तकालयमा स्वदेश तथा विदेशका थुप्रै पुस्तकहरु थिए ।
पुस्तकालयमा अध्ययन गर्न रुचाउनेहरु पनि थुप्रै थिए । यस्तै, पात्रहरुमध्ये चन्द्र श्रेष्ठ पुस्तकालयको अर्का पाठक थिए । उनको बुबा अमृत बहादुर श्रेष्ठ, दोलखाको २०४५ ताका ठूला व्यापारी थिए । जस्ले दोलखा जिल्लाकै व्यापार धानेको थियो ।
उनैको कान्छो छोरा हुन, चन्द्र श्रेष्ठ । साधारण जीवन र मेहनतलाई हर प्रयास गर्ने श्रेष्ठ पुस्तक पढ्न, लेख्न र फोटो पुस्तक हेर्न रुची राख्ने स्वभावका थिए ।
जब उनले एक दिन भीम पुस्तकालयमा एउटा म्यागजिनमा सुन्दर फोटोहरु देखे । फोटोको विषयमा जानकारी लिए । ‘त्यो फोटो जापानको थियो । यसपछि उनको बालमस्तिष्कमा जापान शहर पुग्ने इच्छा सुसाइ रह्यो । तर, पुग्ने कसरी, थाहा थिएन ?
होटल द्वाल्खा दरबारको टेरेसामा चन्द्र, कफि पिउँदै विं. सं २०५० अघिको विगत सुनाइरहेका थिए । ‘त्यो बेला योङ थिए । सोच्ने, प्लान बनाउने, काम गर्ने उत्साहको उडान अर्कै थियो । जब २०४७ सालमा एसएलसी दिए । अहिले लाग्छ फेरी पनि त्यो समय फर्केर आइदियोस । चन्द्रलाई थाहा छ, त्यो समय फर्किदैन ।’
………………………………………………………………………………………………………….
हावा महलमा कफी
हामी बुधबार द्वाल्खा दरबारको ‘हावा महल’मा गफिदै थियौं । जहाँ चन्द्रले आफ्नो विगतका कथासँगै संघर्षका आयामहरु सुनाउँदै थिए ।
‘म केही गर्छु’ भन्ने वेग्र भावले खारिएका चन्द्र एसएलसीपछि काठमाडौं गए । काठमाडौंमा रहँदा उनले फुपु सकुना श्रेष्ठ र फुपाजु केशव श्रेष्ठकोमा काम गरे । कलेज पढे । तर, जापानको हुटहुटी हराएन ।
१७ वर्षको उमेरमा हङकङ पुग्दा पनि चन्द्रको ‘जापान ड्रिम’ले पछ्याउन छोडेन । यसपछि उनको फुपाजु केशवले चन्द्रलाई जापान पु¥यायो ।
जापानमा २७ वर्ष
जापान पुगेको २७ वर्ष भएछ । सपनाको शहर, जापानमा जीवनकै ‘उर्जावान समय’ झन्डै तीन दशक बिते पनि उनलाई होइन, जस्तो लाग्छ । विगत सम्झँदै उनी कहिले गम्भीर हुन्छन् । कहिले मुस्कुराउँछन् । अनि भन्छन,‘समयमा कर्म गरौं र भविष्यलाई उज्यालो बनाऔं।’
सन् १९९६ मा चन्द्र जापान उडेका रहेछन् । खासमा उनको जापान जीवनकै ड्रिम थियो । तर, जापानले कर्म सिकाएकोमा उनी गर्व गर्छन । चन्द्रसँगै छिन्,‘उनकी जीवन संगीनी, सिर्जना श्रेष्ठ ।’
मृदुभाषी र शालिन व्यवहार सिजर्नाको विशेषता हो । चन्द्रको हरेक दुःख र सुखमा हातेमालो गर्न उनीहरुले २००९ मा विवाह गरेका हुन् । ‘हामीले मागी विवाह गरेको हो,’ सिर्जनाले सुनाइन । चन्द्र र सिर्जना निकै खुसी छन् ।
चन्द्रले २७ वर्ष जापान रहँदा थुप्रै आरोह अवरोहहरु पार गरेँ ।
‘जापानको बसाई काम, काम, काम नै हो । यहाँ फुर्सद नै हुँदैन । जापान विकासको तिव्र गतिमा थियो,’ चन्द्र सुनाउँछन्,‘म त्यो बेला जापान पुगेछु जतिबेला फुपाजुको विजनेशको स्पिट थियो । हामी रातभरि काम गथ्र्यौ । त्यो एउटा भोगाई थियो ।’
सन् २००४ मा विट्स एन्ड रफ स्टोन कम्पनी
लामो समय फुपाजु केशव श्रेष्ठसँग काम गरेपछि उनले २००४ मा आफ्नै कम्पनी स्थापना गरे । जस्ले पस्मिना, स्टोन, ज्वेलरी सम्बन्धी काम गरिरहेका छन् । यो कम्पनीलाई सिर्जनाले ह्यान्डिल गरेकी छिन् । कम्पनी स्थापना गरिएको १९ वर्ष भइसकेको छ । अहिले कम्पनीले ५ जनालाई रोजागरी दिइरहेको सिर्जनाले सुनाइन ।
‘दोलखामा केही गरौं’
२०५० आसपास दोलखामा छुटै रौनक थियो । छुटै समय थियो । यसकारण दोलखा सुनसान हुनुुहुँदैन । दोलखामा केही गरौं भन्ने भावना सदैव छ । दोलखाका मान्छेहरु संसार पुगेका छन् । संसार घुमेर दोलखा फर्किने क्रममा पनि छन् ।
म पनि दोलखा फर्किने क्रममा छु । दोलखामा केही गर्ने मनोभाव हराएको छैन । यसकारण दोलखामा केही गर्ने योजना सहित टुरिजम सेक्टरमा पाइला चालेको चन्द्र सुनाउँछन् ।
२०७२ को वैशाखको भुकम्पले दोलखा अछुतो रहने ठाउँ थिएन । यसपछि चन्द्र दोलखा फर्किए । सामाजिक सेवामा सक्रिए भए । सक्ने सहयोग गरे । यतिले मात्रै चन्द्रको मन थामिएन । यसपछि चन्द्रलाई पुर्खेउली थलोमा केही गर्ने ‘इमोसन’ चल्यो । र, होटल टुरिजमको कन्सेप्ट स्क्यानिङ गरेर फ्रेमिङमा निकाले ।
द्वाल्खा दरबारको प्रोजेक्ट
होटल द्वाल्खा दरबार । सुन्दा आन्नद लाग्छ । अझ भनौं, ‘दरबार होटल । दरबार जस्तै होटल’
दोलखामा दरबार भन्ने बित्तिकै तत्कालिन राजा इन्द्रसिंह देव लाई इंकित हुन्छ । जस्ले दोलखामा शासन चलाए । पाखलतिबाट राजा इन्द्रसिंह देवको शालिक हेर्दै पुगिन्छ ‘द्वाल्खा दरबार’ ।
दोलखा शहरको मध्येभागमा छ, द्वाल्खा दरबार ।
जहाँबाट महाभारतको लेक शैलुङ, जिरीको उच्च शिर हनुमन्ते, रोल्वालिङ हिमश्रृंखलाको मनमोहक दृश्य द्वाल्खा दरबारबाट छर्लङगै देख्न सकिन्छ । द्वाल्खा दरबारको आँगनमा विराजमान भीमेश्वरको मन्दिर । यति सुन्दर ठाउँहरुको छातिमा रहेको द्वाल्खा दरबार जिल्लाकै उत्कृष्ट स्टार होटल हो ।
चन्द्र श्रेष्ठले करिव १५ करोड लगानीमा द्वाल्खा दरबार निर्माण गरेका हुन् । कम बोल्न रुचाउने श्रेष्ठ दम्पतीले होटल उद्योगमा ठूलो लगानी गरेर दोलखामा स्टार होटल भित्र्याएका छन् ।
‘जापानमा पुगेकाहरु नेपाल फर्किने नै हो । यहाँ भाषाको समस्या छ । यति मात्रै होइन ‘सोसल लाईफ’ हुँदैन । घनिष्ट सम्बन्ध भन्ने नै छैन । यसकारण हामी दोलखाको पर्यटन विकासमा काम गर्छौ,’ श्रेष्ठ दम्पतीले भने,‘दोलखा बजारमा स्टार होटल भित्र्याउनु पर्छ । व्यवस्थित वातावरण बनाउन जरुरी छ ।’
सिर्जना भन्छिन्,‘खासमा नेवारी नाम राख्ने सोच थियो । विदेशी पनि खोज्यौं । तर, खास नाम जुराउँनै सकिएन । एक दिन श्रीमानले सपनामा दोलखा दरबार भन्ने नाम आएको भनेर विहानै सुनाएपछि ‘द्वाल्खा दरबार’ राखिएको हो ।’ (चन्द्र श्रेष्ठ हाँस्दै थिए)
३३ वटा कोठा, ४ वटा भिआइपी
द्वाल्खा दरबारमा ३३ वटा कोठाहरु रहेका छन् । यसमध्ये ४ वटा भिआइपी कोठा रहेको छ । हरेक कोठामा घाम लाग्छ । हरेक कोठालाई प्रविधिमैत्री बनाएका छन् । अनावश्यक रंगरोगन भन्दा पनि दोलखा सुहाउँदो सजावट गर्ने प्रयास गरेका छन् ।
होटलको दुवै तर्फ प्राचिन शैलीमा ढोका राखिएको छ । होटल भन्दा पनि मन्दिर प्रवेशको आभास गराउँछ । ३५ सयदेखि ५५ सय सम्मको कोठाहरु रहेको छ । प्याकेजमा आउने आगन्तुकका लागि विशेष छुट समेत व्यवस्था गरिएको छ ।
करिव ८ रोपनी जग्गामा होटल निर्माण गरिएको छ ।
मेडिटेशन पार्क
होटलको कम्पाउन्डभित्र छुटै पार्क निर्माण गरिएको छ । उक्त पार्कमा मर्निङ वाक, इभीनिङ वाक गर्न सकिन्छ । यति मात्रै होइन, सो पार्कलाई मेडिटेशन गर्न समेत सकिने छ । यसका लागि थप व्यवस्थापन गर्ने होटलको योजना छ ।
स्विमिङ पुल
होटलको जग्गा अझै बाँकी छ । होटलले स्विमिङ पुलको अवधारणा समेतअघि सारेको छ । दोलखाको लागि यो नयाँ प्रडक्ट हुने श्रेष्ठको भनाई छ । दोलखा राजधानी काठमाडौंबाट १३५ किलो मिटर टाढा रहेको छ । दोलखा बजारमा नै होटल रहेकाले पाखलतिको मुख्य प्रवेशद्धार हुँदै दुई सय मिटरभित्र हिडेपछि द्वाल्खा दरबारको गेटमा पुग्न सकिन्छ । पैदल यात्रासँगै सवारी साधनसमेत सजिलै पुग्न सकिन्छ ।
दुवई र जर्मनबाट आएका सेफ
द्वाल्खा दरबारमा दोलखाकाकै स्थानीयलाई रोजगार दिने योजना थियो । तर, स्किल भएकाहरु कम भएपछि दक्ष सेफहरु बाहिरबाट झिकाएको श्रेष्ठ सुनाउँछन् । दुवईबाट प्रशान्त दबाडी र जर्मनबाट फर्किएका सगुन श्रेष्ठ होटलको सेफहरु हुन् । अहिले होटलमा १० जना कर्मचारी रहेका छन् ।