काठमाडौं । सवारी चालक अनुमती पत्र (लाइसेन्स)को समस्या सुल्झिन अझै ११ महिना लाग्ने भएको छ।
यातायात व्यवस्था विभागले मास प्रिन्टर संचालनमा ल्याइसके पनि ब्याक लक (छाप्न बाँकी) धेरै रहेकोले पूरै समस्या हल हुन अझै ११ महिना लाग्ने भएको हो।
अझै ६ लाख ५० लाइसेन्स छाप्न बाँकी रहेको र दैनिक ५ हजार लाइसेन्स छपाई भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। हमालकोअनुसार दैनिक रुपमा औसत ३ हजारले लाइसेन्सको प्रकृया पुरा गर्छन्।
यसअनुसार दैनिक २ हजार लाइसेन्सले ब्याकलक हटाउँदा ११ महिना लाग्ने देखिएको हो। हाल मास प्रिन्टरले पूर्ण क्षमतामा छपाई गरेको छैन।
विभागले क्रमैसँग प्रिन्टरको छपाई क्षमता बढाई रहेको छ। प्रिन्टरको पूर्ण क्षमताअनुसार दैनिक ८ हजार लाइसेन्स छापिए ६ महिनाको हाराहारीमा लाइसेन्सको समस्या समाधान हुन्छ।
त्यसैगरी, विभागले नयाँ मास प्रिन्टर खरिदको लागि पनि छलफल गरिरहेको छ। अर्को मास प्रिन्टरले छपाई भएमा लाइसेन्सको समस्या पूर्ण रुपमा समाधान हुनेछ।
सरकारले ४ वर्ष अगाडि कागजी लाइसेन्स विस्थापित गर्दै स्मार्ट लाइसेन्स लागू गरेको थियो। स्मार्ट लाइसेन्सको लागि सेवाग्राहीले १ वर्ष भन्दा धेरै पर्खनुपर्ने अवस्था छ।