चरिकोट । प्रथम बागमती प्रदेश क्लवस्तरीय खुला पुरुष फुटबल प्रतियोगितामा खरिढुंगा एक्टिभ ब्वाईज क्लवले प्रथम उपाधि हात पार्न सफल भएको छ ।
लाली गुराँस युवा क्लव चरिकोटलाई २–१ गोल अन्तरले हराउदै खरिढुंगाले प्रथम उपाधी हात पारेको हो ।
प्रथम पुरस्कार दुई लाख पचास हजार र दोस्रो हुने लालीगुराँस युवा क्लवले एक लाख पच्चीस हजार नगदसहित प्रमाणपत्र शिल्ड, मेडल हात पारेका छन् ।

कात्तिक २० गतेदेखि सञ्चालन भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । समापन समारोह दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको अध्यक्षतामा र बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उपाधी हासिल गरेका खेलाडीहरुलाई भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरलगायतले शिल्ड, मेडल, प्रमाण पत्र वितरण गर्नुभएका थिए ।