११ असार २०८१, सोमबार | Mon Jun 24 2024

विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि व्यवसायीले बनाए जहाज



मोहम्मद हबिब

भैरहवा, ९ मंशिर । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल २०७८ कार्तिक ६ गते उद्घाटन भई सञ्चालनमा आएपनि नियमित रुपमा उडान अवतरण नभएपछि व्यवसायीहरु निराश भएका छन ।

निराश पनि किन नहोउन राज्यले विमानस्थल निर्माण र संचालनमा खर्च गरेको भन्दा बढि लगानी निजी क्षेत्रले गरेका छन ।

निजी तथा सामाजिक क्षेत्रका संघसंस्थाहरुको संस्था सिद्धार्थ संजाल रुपन्देहीले पनि कार्तिकको दोस्रो साताबाट विमानस्थल पूर्ण रुपमा संचालनका लागि आन्दोलन गरिरहेका छन । विमानस्थल नियमित सञ्चालन गर्न पटक पटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले उनीहरु आन्दोलनमा उत्रेका हुन ।

आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई एकमहिने अल्टिमेटमसहित ज्ञापनपत्र दिइसकेको छ । त्यस्तै, कात्तिक १५ गतेदेखि सम्बन्धित निकायहरुमा पत्राचार भेटघाट तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउने, आन्तरिक हवाई टिकट विक्री नगर्नका लागि हवाई एयरलायन्सहरुमा पत्राचार गर्ने र विरोधस्वरुप शान्ति ¥याली निकालिन, आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना दिने, आन्तरिक हवाई उडान बन्द गर्न दबाबस्वरुप धर्ना तथा विरोध प्रदर्शन गर्ने र मंसिर २५ गतेदेखि अनिश्चितकालका लागि आन्तरिक हवाई उडान र बेलहिया नाका पूर्ण रुपमा बन्द गर्न आह्वान गर्ने लगायतको आन्दोलनको तय भएको छ ।

विमानस्थललाई नै केन्द्र बनाई निजी क्षेत्रबाट अर्बौको लगानी भइसकेको र भइरहेको छ । उद्घाटन भएको २ वर्ष बित्दा पनि नियमित रुपमा बिमानहरु आउन नसकेको कारण यहाका उद्योगी ब्यवसायी निराश छन् । अहिले यहाँ निजीक्षेत्रको जुनसुकै कार्यक्रम होस विमानस्थलकै एजेण्डा पहिलो बनने गरेको छ । मंसिर ६ गतेबाट भैरहवामा उद्योग ब्यपार संगठन रुपन्देहीको आयोजनामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव हुदैछ, महोत्सवमा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिनका लागि आयोजकले प्रवेशद्वार नै विमानस्थलको अनुभुत हुने गरि बनाएका छन ।

बिरोधको कार्यक्रमलाई जनस्तरमा लैजान एवम अन्र्तराष्ट्रिय बिमानस्थल नियमित रुपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्यले प्रवेशद्वारमा जहाजको आकृति दिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

बिमानस्थललाई नै हेरेर यहा अर्बौंे लगानी भएको छ । काठमाण्डौमा जाम छ तर भैरहवामा तयारी अवस्थामा रहेको विमानस्थल चलाउने तर्फ सरकारले नै उदासिनता देखाएपछि जनस्तरमै दबाब श्रृजना गर्नका लागि जहाजको डेमो बनाएको हो । करिब ५ लाखको लागतमा भारतबाट कालीगढ बोलाएर प्रवेशद्वारमा बिमानको आकृति तयार गरिएको हो ।

मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यहि परोस भन्ने मनसायले पहिलो इम्प्रेशन पार्न बिमान निर्माण गरिएको हो । कतिले यसको व्याख्या फरक गर्लान तर यो बनाउनुको एक मात्र उद्देश्य व्यवसायीहरुको पिडा अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि दबाब दिनु नै हो ।

‘हामी अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन पर्दछ भन्ने मागसहित आन्दोलनमा छौँ । यसका लागि जहाँबाट पनि हामी सरकारको विरोध गर्दछौँ,’ संगठनका पूर्वअध्यक्ष नारायण भण्डारीले भने । यो व्यवसायीहरुको पिडा बोलेको हो गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल बनेपछि रुपन्देहीको पर्यटन क्षेत्रको मुहार फेरिने आसमा बसेका पर्यटन व्यवसायीले विमानस्थललाई लक्षित गरी करिब ४० अर्ब रुपैयाँ होटेल क्षेत्रमा लगानी गरेका छन् ।

विमानस्थल नियमित सञ्चालन नहुँदा अहिले रुपन्देहीका ३० प्रतिशत होटेल बैंकको लिलामी प्रक्रियामा गइसकेको छ । बैंकको ब्याज र धरपकडले आत्माहत्या गर्ने अवस्थामा पुगेका छन् भने अझै पनि विमानस्थल पूर्ण क्षमतामा नचल्ने हो भने अवस्था भयावह हुन्छ’ उनले भने ।

हामीहरुले जति सक्यो चाडो नियमित अन्तर्राष्ट्रिय उडान भर्न , नेपाल वायुसेवा निगमको जहाजहरुबाट उडान भर्न र कुटनीतिक पहलकदमी सहित अन्य अन्तराष्ट्रिय उडानको माग गरेका छौ । संचालनमा आएको २ वर्ष वित्दा पनि विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान नहुनु हामी सबैको लागि दुखद हो । हामीहरुको एक मात्रै एजेण्डा अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान हुनु रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने ।

निजी क्षेत्रको पिडा कसले बुझने हामीहरुको अहिले एकसुत्रीय मुद्धा नै अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान हुनु नै हो, यसले मात्रै निजी क्षेत्रलाई बचाउन सकिन्छ । यस क्षेत्रको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै भएको लगानी डुब्ने र उद्योगी व्यवसायी सडकमा आउने अध्यक्ष श्रेष्ठले भने । एकातिर निजी क्षेत्रको अर्बौं लगानी खेर गइरहेको छ भने विमानस्थलको लगानी पनि जोखिममा छ ।

‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बचाऔँ’ भन्ने नाराका साथ सिद्धार्थनगर– ८ स्थित अञ्चलपुरमा महोत्सव हुँदै छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  १० : ५७ बजे