२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मर्दी जाने पदयात्रीबाट १ महिनामै १२ लाख प्रवेश शुल्क संकलन



कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी, खुमैं र कोर्चाङमा आउने पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँ प्रवेश शुल्क उठाएको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशीबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो ।

गाउँ कार्यपालिका सदस्य राम गुरुङका अनुसार मंसिर १ गते मर्दी र खुमैं दुवैमा सर्वाधिक पदयात्री पुगेका थिए । उनले मर्दीमा त्यस दिन ५६० जना स्वदेशी र ३९ जना विदेशी पदयात्री पुगेको जानकारी दिए । ‘खुमैंमा पनि त्यो दिन २५० जना नेपाली पदयात्री एकैदिन पुगेको रेकर्ड छ’, गुरुङले भने ।

माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमाल (लोक्याम्प)मा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा गाउँपालिकाले शुल्क उठाउन थालेको छ । पदयात्रीबाट प्रवेश शुल्क उठाउन थालेपछि आधिकारिक संख्या र विवरण प्राप्त गर्न पनि सहज भएको गुरुङको दाबी छ ।

पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीसँग ५ सय र नेपाली पदयात्रीसँग १ सय रुपैयाँ प्रवेश शुल्क उठाइन्छ । माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मोडल ट्रेल (मर्दी हिमाल पदमार्ग), ग्रेट माछापुच्छ्रे ट्रेल (खुमैं–कोर्चाङ पदमार्ग) र तारा–हिलटप पदमार्ग पछिल्लो समय पदयात्रीको रोजाइमा पर्दै आएको छ ।

कार्यपालिका सदस्य गुरुङका अनुसार चेकपोस्टमा उठाइएको प्रवेश शुल्क प्रत्येक १५÷१५ दिनमा पालिकामा जम्मा गर्नुपर्ने नियम छ । ‘कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्रै मर्दीमा २ हजार ९५ जना स्वदेशी र ६६५ विदेशी पुगेको देखियो’, गुरुङले भने, ‘खुमैंतिरको अझै आउन बाँकी छ । यो महिनाको पनि हिसाब गर्नै बाँकी छ । संख्या अझै बढ्छ ।’

संकलित रकमबाट ठाउँठाउँमा फोहोर संकलन गर्ने डस्टबिन, पर्यटक सूचना केन्द्र र पर्यटक प्रहरीको व्यवस्थापन गर्ने गाउँपालिकाको योजना छ ।

‘पछिल्लो समय नेपालीहरु ट्रेकिङ सुरु गरेका छन् । तर, उनीहरुको ट्रेकिङ होइन म्याराथन हो । कोभन्दा को अगाडि पुग्ने प्रतिस्पर्धाजस्तै छ,’ उनले भने, ‘त्यसमाथि वनजंगलमा स्पिकर बजाउँदै हिँडेर डिस्टर्ब गरिरहेका छन् । त्यसलाई व्यवस्थापन गर्न पनि सूचना केन्द्र र पर्यटक प्रहरी चाहिन्छ ।’

तर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले भवन बनाउन अनुमति नदिँदा उक्त योजना अगाडि बढाउन नसकेको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ००:००  ११ : ५३ बजे