१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

पर्यटन प्रवर्द्धन गर्न सौराहामा गोही संरक्षण मेला



काठमाडौँ। चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । सौराहाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केयर फर नेचर (सिएफएन)को आयोजनामा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा ‘नेपाल गोही संरक्षण मेला २०८०’ हुने भएको हो । मेलाका संयोजक रञ्जना भट्टले गोही लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि चेतना फैलाउन मेला गर्न लागिएको बताइन् ।

मेलामा घडियाल र मगर गोही संरक्षणसँग सम्बन्धित सूचनामूलक श्रव्यदृश्य सामग्री, पोस्टर, चित्रकला प्रदर्शन गर्ने उनले जानकारी दिइन् । मेलामा सूचनाकेन्द्रका साथै स्थानीय कला, संस्कृति, खानाका परिकार लगायत स्टल समेत रहने बताइएको छ । यसले संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

‘गोही तथा नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यबद्धता’ नाराका साथ आयोजना गर्न लागिएको मेलामा संरक्षणसम्बन्धी नाटक, गीत, नृत्य तथा पेन्टिङ लगायतका गतिविधि समेत सञ्चालन हुने बताइएको छ । कार्यक्रमलाई सहजीकरण र सञ्चालनका लागि गोहीका विषयमा अनुसन्धान गरेका अन्तराष्ट्रिय विज्ञसहित राष्ट्रियस्तरका अनुसन्धानकर्ता, विज्ञ तथा विश्वविद्यालयका विद्यार्थीको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार ००:००  १ : ०६ बजे