काठमाडौँ। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने भएको छ । महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो ।
साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । ‘खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिन्छ,’ अध्यक्ष भट्टराईले भने । दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्ने तर अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने उनको भनाइ छ ।
महोत्सवमा सहभागी हुन पोखरा आउने पर्यटकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ ।
रेवान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा विशेष हुने बताए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारालाई सफलताका साथ व्यवस्थित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।
यो वर्षको महोत्सवमा डुंगा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै अन्य विभिन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्ने भट्टराईको भनाइ छ ।
महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ ।