१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

पर्यटक भित्र्याउन स्याङ्जामा रक क्लाइम्बिङ स्कुल स्थापना



काठमाडौँ। डोरीको सहायताले भिर तथा चट्टानमा खेलिने साहसिक खेल रक क्लाइम्बिङलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रियस्तरको स्कुल स्थापनाका लागि स्याङ्जामा पहल सुरु भएको छ । त्यसका लागि पुतलीबजार नगरपालिका-१२ पेल्काचौरमा रहेको ओल पहरो छनोट गरिएको छ ।

नागार्जुन वन, नगरकोट, नाम्चेबजा, मनाङजस्ता केही सीमित ठाउँमा मात्रै गर्न सकिने रक क्लाइम्बिङ स्याङ्जाको पेल्काचौरमा गर्न सकिने अनुसन्धानबाट खुलेको छ । हालसम्म खेलिने ठाउँभन्दा उत्कृष्ट चट्टान भएको पेल्काचौरलाई रक क्लाइम्बिङ स्थलमा विकास गर्नसकेमा तालिमका लागि लाखौँ तिरेर विदेश जानुपर्ने बाध्यता हट्ने पर्यटन व्यवसायी कृष्णजंग केसी बताउँछन् ।

यस क्षेत्रमा रक क्लाइम्बिङको लागि पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र पुतलीबजार नगरपालिकाले एक वर्ष पहिले संयुक्त अनुसन्धान गरेका थिए । नेपालको पर्यटन सीमित क्षेत्रमा मात्रै केन्द्रित भएको हालको अवस्थामा सहासिक पर्यटक भित्र्याउन धेरै सम्भावना बोकेको रक क्लाईम्बिङ प्रवर्द्धन गर्न काम थालिएको पर्यटन मन्त्रालयले जनाएको छ। नगरपालिकाको ६ लाख र मन्त्रालयको ७ लाख गरी १३ लाखबाट काम सुरु भएकोमा कार्य सम्पन्न हुँदासम्म ३ करोडसम्म खर्च हुने अनुमान रहेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

रक क्लाईमिङ हुने ठाउँसम्म जाने बाटो पालिकाको समन्वयमा निर्माण भइसकेको छ । पोखराबाट पनि नजिक रहेका कारण यस क्षेत्रमा प्याराग्लाइडिङ, क्यानोनिङ र साइक्लिङलगायतका अन्य खेलका गतिविधि पनि सञ्चालन गर्नसक्ने प्रशस्त सम्भावना छ ।

तीनै तहका सरकारले समन्वय गरेर यस क्षेत्रमा साहासिक खेलकुद गतिविधि सञ्चालन गरी पर्यटकहरु भित्राउनसके यसले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने देखिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  २ : १० बजे