चरिकोट । प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखा प्रकृतिको अनुपम उपहार र पर्यटनको प्रचुर सम्भावना भएकाले देशको पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य बनाउने बताएका छन् । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको दोलखा महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा व्यक्त गरेका हुन् ।
आफू पटक पटक दोलखा आएको र दोलखाको विकासको बारेमा पूर्ण जानकारी भएकाले आगामी दिनमा दोलखाको विकासको लागि आफूले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।
दोलखाको उत्पादन बढाउन र आन्तरिक तथा बाह्यपर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गत वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताए ।
उनले चीनदेखि दोलखाहुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताए । उनले दोलखामा ‘फिल्म सिटी’ र रंगशाला निर्माणका लागि सरकारको सहयोग रहने समेत स्पष्ट पारे ।
महोत्सव उद्घाटन कार्यक्रम दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्वसांसहरु पार्वत गुरुङ, जीपछिरिङ लामा र विशाल खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
#दोलखा_महोत्सव #पुष्पकमल_दाहाल