२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

कालीगण्डकीमा पहिलो पटक र्‍याफ्टिङ च्याम्पियनसिप सुरु



पोखरा । पर्वत र बागलुङको संगमस्थल मालढुंगा, कालीगण्डकीमा पहिलो पटक र्‍याफ्टिङ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यसहित र्‍याफ्टिङ च्याम्पियनसिप सुरु भएको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ४ दिनसम्म हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता गरिएको थियो ।

आइतबार भएको राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना २ हिटमा कुल ८६.६१ मिनेटको समय लिँदै पहिलो भए । प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समय लिँदै दोस्रो भए भने चितवनका शक्तिकुमार गुरुङ तेस्रो भए । उनले कुल ९०.१ मिनेटको समय लिए ।

त्यस्तै ९१.८९ मिनेट समय लिएका चितवनका नवीन श्रेष्ठ चौथो भएका छन् । ९१.८९ मिनेटमा दूरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौ स्थान हासिल गरे ।

राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमबार र मंगलबार ¥याफटिङ अन्तर्गतका अन्य २ प्रतिस्पर्धाहरु हुने साहसिक खेलकुदका संयोजक वसन्तराज दवाडीले जानकारी दिए । उनका अनुसार सोमबार स्प्रेन हेड टु हेड र मंगलबार सालोलम डाउन रिभर रेस हुनेछ ।
साहसिक खेल ¥याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक एवं खेलका मुख्य प्रशिक्षक निमबहादुर मगरले बताए ।

प्रतियोगितामा ७ प्रदेश, विभागीय टिम र अन्य क्लबहरुको समेत सहभागिता छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनोट हुने मगरले बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ९ : ३२ बजे