८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सौराहामा ‘भ्यालेन्टाइन डे’ विशेष फुड फेस्टिबल सुरू



चितवन । चितवनको सौराहामा आइतबारदेखि ‘भ्यालेन्टाइन डे’ विशेष फुड फेस्टिबल सुरू भएको छ ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) सौराहाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले हरेक वर्ष भ्यालेन्टाइन डेको अवसर पारेर फुड फेस्टिबल आयोजना गर्ने गरेको छ। यो १८ औं संस्करण हो।

फेस्टिबल सुरू हुनुअघि सौराहा बजारमा विभिन्न जातजातिको कला, संस्कृति, भेष–भूषा, प्रदर्शन गरिएको थियो।
रेवानका अध्यक्ष ध्रुव गिरीले फुड फेस्टिबलको अवसरमा स्थानीय खाना, स्वदेशी तथा विदेशी परिकारहरू उपलब्ध गराइने बताए।

यस्तै हात्ती चोकदेखि राप्ति ड्याकसम्मका होटेल तथा रेस्टुरेन्टहरूले पनि खानाका विभिन्न परिकारहरू तयार पारेर उपलब्ध गराउने मेलाका संयोजक सूर्यबहादुर रिमालले जानकारी दिए। मेला स्थलमा ५० वटा स्टलहरू राखिएका छन्।
स्थानीय जनजातिका खानाको प्रदर्शनी तथा प्रतियोगिता, भ्यालेन्टाइन डे विशेष कार्यक्रम, वेटर÷वेटरेसको प्रतिस्पर्धा, भलिबल, नृत्य र डोरी तान्ने प्रतियोगिता पनि हुने उनले बताए।

अध्यक्ष गिरीले फागुन ३ गतसम्म चल्ने फुड फेस्टिबलमा ३ करोड रुपैयाँसम्म कारोबार हुने र दैनिक ५ हजार जना पर्यटक आगमन हुने अनुमान गरिएको बताए।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ९ : ३९ बजे