६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पर्यटन मन्त्री तामाङ भन्छन्,‘पर्यटन नीति समय अनुसार रुपान्तरण गर्नुपर्छ’



नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । बिहीबार पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका थिए । 

कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसँग सहकार्य गरेर अघि बढ्ने बताए । ‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन ’ उनले भने ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु आजको आवश्यक्ता रहेको बताए । उनले सबैले आआफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए । बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौं लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानून र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताए ।

सो बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका आयोजना गरिने कार्यक्रमका लाागि कार्यविधि नहुँदा ती कार्यक्रम प्रभावित भएको भन्दै सहजिकरण गरिदिन मन्त्री तथा सचिवसंग आग्रह गरेका छन्  । 

कार्यक्रममा बोर्डका कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले बोर्ड सदस्य तथा कार्यकारी प्रमुखको नियुक्ति छिटो गर्न सके बोर्डका कार्यक्रम प्रभावकारी हुने बताउँदै कर्मचारीका समस्या तथा नीतिगत विषयमा धारणा राख्दै भएको थियो । 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ००:००  १ : ५६ बजे