३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

महिला गाइडहरूलाई पहिलो पटक रेस्क्यु तालिम



सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरूलाई रेस्क्युसम्बन्धी तालिम पहिलो पटक आयोजना गरिएको छ।

सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरूलाई ७ दिने रेस्क्यू तालिम दिएका हुन्।

माउन्टेन गाइड बन्न आवश्यक पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउने सीपहरू उक्त तालिमका क्रममा दिइएको प्रशिक्षक लामवावु शेर्पाले जानकारी दिए।

नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको उक्त तालिम काठमाडौंको जकडोल जंगलमा चैत ७ गतेबाट सुरु भएर मंगलबार सकिएको हो।

पदयात्रा र आरोहणका क्रममा पर्यटकहरूको मृत्यु हुनेको संख्या वार्षिक बढ्दै गएकाले यो तालिम फलदायी हुने पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानकी अध्यक्ष दावा फुटी शेर्पाले बताइन्।

सीप र दक्षताबिनाको जनशक्तिले पर्यटन क्षेत्रमै नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको गर्नु आवश्वयक भएको उनले बताइन्।

उद्धारसम्बन्धी २५ जना महिला गाइड तालिममा सहभागी थिए। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले दक्ष जनशक्ति तयार गर्न बोर्डले यस्ता तालिमको गर्ने बताए।

सरकारले राखेको पर्यटन दशक (२०२३–२०३३) को उदेश्य पूरा गर्नसमेत सीपयुक्त जनशक्ति आवश्यक भएको उनले बताए।

भीर र खोँचमा फसेका, आरोहणका क्रममा क्रिभासभित्र पसेकालाई सहज रुपमा उद्धारपछि सुरक्षित स्थानमा पुर्‍याउनेसहितका अभ्यास तालिममा गराइएको छ।

ट्रेकिङ गाइड र आरोही मात्रै सहभागी तालिमले अन्तराष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग गर्ने आयोजकले जनाएको छ। हालसम्म नेपालमा दावा याङजुम शेर्पा मात्रै महिला माउन्टेन गाइडका रुपमा छिन्।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ००:००  १० : ०२ बजे