काठमाडौं । डिस्कभर नेपाल डान्स थिएटरको आयोजनामा राष्ट्रिय लोक नृत्य कार्यशाला सम्पन्न भएको छ ।
कोशी प्रदेशको मौलिक संस्कृति झल्काउने सन्थाल र सुनुवार जातिको लोपोन्मुख अवस्थाका स्यादर नाचलाई संरक्षण तथा संवर्धन गर्ने उदेश्यले असार २२ र २३ गते कार्यशाला गरिएको थियो ।
नेपालका आदिवासी जातिहरूको नाचलाई अनुसन्धान, संरक्षण, प्रवद्र्धन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको डिस्कभर नेपाल डान्स थिएटरकी अध्यक्ष भावना कार्कीले बताइन ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा विभिन्न विद्यालयका सयभन्दा बढी नृत्य प्रशिक्षक शिक्षकहरूको सहभागीता रहेको थियो ।
नेपालको लोक नृत्यले यहाँको सुन्दरता र संस्कृतिलाई अझ उच्च स्थानमा पु¥याउन सक्ने मौलिकता बोकेको र आदिवासी मूल वासी बसोबास गर्ने क्षेत्रमा रहेको स्थानीय भाषा, भेषभूषा र तालवाद्यको संयोजनमा लोपोन्मुख लोक नृत्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लैजाने उदेश्यले कार्यशालाको आयोजना गरिएको थियो ।
साथै कार्यशालाले विद्यालयका नृत्य प्रशिक्षकहरूलाई सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा निपूर्ण बनाउने र नेपाल सरकारको पाठ्यक्रम अन्तर्गत राखिएको लोक नृत्य जस्ता शीर्षकहरूमा विद्यार्थीहरूको पठनपाठनलाई पनि ठूलो सहयोग पुग्ने आयोजकले जनाएको छ ।
प्रमुख प्रशिक्षक रोचक थापाले राष्ट्रिय स्तरको यस कार्यशालाले देशको सांस्कृतिक विविधताको महत्वलाई नृत्य विधा मार्फत समेटिएको बताए । कार्यशालामा त्रिवि संस्कृति केन्द्रीय विभागका सह प्राध्यापक लोकनाथ दुलाल अतिथि व्याख्याताको रूपमा रहेका थिए ।
यसै अवसरमा डिस्कभर नेपालका डान्स थिएटरमा स्थापना कालदेखि आजसम्मसहयोग र निरन्तर रुपमा नृत्य निर्देशको रुपमा भूमिका निर्वाह गरेका प्रनेस श्रेष्ठ, दिलमाया बि.क छवि मगर, समीर सङखदेब, उर्मिला तामाङलाई समेत विशेष सम्मान गरिएको थियो ।