संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग बिहीबार मन्त्रालयमा छलफल गरेका छन्।
छलफलका क्रममा कतिपय विमान कम्पनीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) ले तोकेअनुसारको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस) लागू नगरेको तथा विमान चालक र प्राविधिक जनशक्तिका लागि आवश्यक सुरक्षा सम्बन्धी तालिम आदिमा न्यून लगानी गरेको पूर्वमहानिर्देशकहरूले मन्त्री पाण्डेको ध्यानाकर्षण गराए।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव पनि उनीहरूले दिए।
दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन पनि नहुने तथा त्यसको फलोअप नभएकोले त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव पनि मन्त्रीले पाएका छन्।
प्राधिकरणको समग्र पक्षमा सूक्ष्म निगरानी गरी सुधार गर्नुपर्ने र त्यसका लागि विचाराधीन विधेयकहरू संसदबाट पारित गर्नेतर्फ पहल हुनुपर्ने कुरामा पनि छलफलका सहभागीहरूले जोड दिएका थिए।
मन्त्री पाण्डेले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि पूर्वमहानिर्देशकहरूसँग सुझाव मागेका थिए।