दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री यु जिन रोङले नेपाल–कोरियाबीचको हवाईभाडा घटाउन पहल गर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोङले पर्यटनमन्त्री बद्री पाण्डेसँगको भेटवार्तामा हवाईभाडा घटाउन कोरियन सरकारसँग पहल गर्ने बताएका हुन् । भेटमा पर्यटनमन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाईभाडा महँगो भएको जनगुनासो रहेको भन्दै घटाउन ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘अहिले ५० हजारभन्दा बढी नेपाली कोरियामा बस्ने गर्छन्, उनीहरूलाई आउजाउ गर्न जहाजको भाडा महँगो भएको गुनासो छ, यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।’
अहिले कोरिया–नेपाल सेक्टरमा कोरियन एयरलाइन्सले मात्र सीधा उडान गर्दै आइरहेको छ । दुई देशबीचको उडानमा एकाधिकार कायम राख्दै आएको कोरियन एयरले चर्को भाडा असुल्दै आएको छ । इपिस प्रणालीमार्फत कोरिया जाने कामदारले प्रतियात्रु एकतर्फी एक लाख २० हजारभन्दा बढी तिर्दै आइरहेका छन् भने पर्यटकले डेढ लाखभन्दा बढी तिर्नुपर्ने हुन्छ ।
चर्को भाडा भएकै कारण कोरियन पर्यटकको नेपाल आगमन उल्लेख्य बढ्न सकेको छैन । कोरियामा नेपाल वायुसेवा निगम (नेवानि)ले सीधा उडान गर्न प्रक्रिया अगाडि बढाए पनि कोरियन उड्डयन नियमनकारी निकायले नेवानि, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अडिट गर्न दिनुपर्नेलगायत विभिन्न सर्तहरू तेस्र्याएर उडान अनुमति दिन आनकानी गर्दै आइरहेको छ ।
नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको बताउँदै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल–कोरिया दुई मित्र देशबीचको मित्रवत् सम्बन्धको प्रशंसा गरे ।