२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने



काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ।
बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ। बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ। पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए।

महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए।

महोत्सवका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ। उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ।

हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ। उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिलगायतका हिमशृङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।

त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, साँस्कृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ।

विसं २०७३ मा स्थापना भएको बलुन नेपाल प्रालिले विसं २०७५ देखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार ००:००  ९ : ०३ बजे