काठमाडौं । पोखरामा दोस्रो नेपाल–चीन मैत्रिपूर्ण ड्रागन वोट रेस आयोजना हुने भएको छ ।
नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका , नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा ट रेस आयोजना हुने भएको हो ।
प्रतियोगिताका पुस १४ र १५ गते आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ड्रागन वोट रेस प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।
सो प्रतियोगिता २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने छ । प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्ने बताइएको छ । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिन जानकारी दिइइको छ ।
ड्रागन वोटको दोस्रो संस्करण फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन वोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ ।
सो अवसरमा बोल्दै नेपालका लागि चिनीया राजदुतावासमा डेप्टी चप्फ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताउनु भयो । उहाँले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गर्नु भयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताउनु भयो ।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ ।
चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् ।
चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।
सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ जना र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८ सय ४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।