१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

निर्मल पूर्जालाई एक करोेड १३ लाख क्षतिपुर्ति तिर्न आदेश



काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पर्वतारोही निर्मल पूर्जाको कम्पनीबाट घर क्षति भएको मालिकालाई एक करोड १३ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

दुई वर्षअघि विस्फोटबाट घर ध्वस्त भएका कपन लसुनटारस्थित टंक घिसिङ र उनकी श्रीमती दालमु कित्तर घिसिङलाई काठमाडौँ जिल्ला अदालतले सो क्षतिपुर्ति भर्न आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले घर भाडामा लिएको पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिबाट एक करोड तेह्र लाख उनान्सय हजार रुपैयाँ क्षतिपूर्ति भराइदिन गरी फैसला गरेको हो ।

पुस १६ मा भएको फैसलाको पूर्णपाठ आएपछि कार्यान्वयनमा जाने घिसिङका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । २०७९ असोज ६ गते भएको घट्नामा एक रोपनी जग्गामा बनेको घिसिङको सुविधा सम्पन्न घर ध्वस्त भएको थियो ।

घर ध्वस्त भएपछि पीडित दम्पतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्थानीय न्यायिक समितिमा न्यायको गुहार माग्दा समेत क्षतिपूर्ति नपाएपछि काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिले भएको क्षतिको रकम दाबी गर्दै मुद्दा हालेका थिए ।

घिसिङ दम्पतीको तर्फबाट अदालतमा अधिवक्ताहरु अनन्तराज लुइँटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, रामकृष्ण बन्जारा र विशाल थापाले बहस गरेका थिए भने कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ता युवराज कुमार भण्डारीले बहस गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  ८ : ०० बजे