अनिल बुढामगर
माघेसङ्क्रान्ति वा सकराती चाड मगर समुदायले आदिमकालदेखि मुख्य चाडको रूपमा मान्दै आएको हो । यो चाड मगरको सभ्यतासँग गहिरो रूपमा गाँसिएको छ । सामान्यतया नेपालका सबैजसो जाति र समुदायले यो चाडलाई आफ्नै तरिकाले मनाउने गर्छन् । तर, मगर समुदायमा भने यो चाड विशेष तरिकाले मनाइन्छ।
विशेषगरी १८ मगरातमा पुस १२ देखि सुरु भएर माघको अन्तिम दिनसम्म माघेसङ्क्रान्ति मनाउने गरिन्छ । सोही समयभित्र मगरहरू आ–आफ्नो पितृ पुज्ने, प्रकृति पुज्ने र चेली पुज्ने, विभिन्न परिकारका खाने कुरा जम्मा गर्ने, भेडाको ऊनबाट निर्मित राडिपाखी, गाँजाको बोटबाट तयार भएको बर्ला (बोरा) लिएर रिडीसम्म पुगी व्यापार व्यवसाय गर्ने, देवघाट, वराह क्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईजस्ता घाटमा स्नान, दान, श्राद्ध गर्ने र धनुष वाण खेल्ने गर्छन् । विशेष चाडको दिन मगरहरू देश–विदेशबाट पुख्र्यौली घर नआइपुगे गाउँका भद्र भलादमीले मृत्यु घोषणा नै गर्ने चलन नै थियो उवेला ।
माघेसङ्क्रान्ति, माघेसङ्क्रान्ति, मकर संक्रान्ति तथा माघी आदि विभिन्न नाम र फरक–फरक विधिबाट मनाइरहेको यो चाड मनोरञ्जनका रूपमा मात्र नभई आ–आफ्नो समुदायको सभ्यतासँग जोडिएको छ । मगर र थारू समुदायले चाडलाई राष्ट्रिय चाडपर्वको रूपमा मान्दै आएका छन् । २०६५ मा नेपाल सरकारले हरेक वर्षको माघ १० लाई मगर र थारूहरूको राष्ट्रिय पर्व हो भनी घोषणा गरेको छ ।
मगर माघेसङ्क्रान्ति चाडको उत्पत्ति कहिलेदेखि सुरु भयो ? नामकरण कसरी भयो ? भन्नेबारे रुकुमपूर्वका मगरगाउँ हुकाम, मैकोट, तकसेरा, कोल, गर्खानी, लुगुम र रोल्पाको थवाङजस्ता थुप्रै मगर गाउँमा रोचक मान्यता पाइन्छन् । ९० वर्षे अमरे बुढामगर, ६० वर्षे हर्कबहादुर रोकामगर, ५५ वर्षे सुरेन्द्र पुनमगरलगायत थुप्रै अध्येतासँग छलफल गर्दा माघेसङ्क्रान्तिबारे रोचक तथ्य फेला पर्यो । मगर गाउँमा गाइँदै आएको ‘स्याँबु’ गीतले धेरै तथ्य प्रस्ट पारेको देखिन्छ ।
मगर समुदायमा माघेसङ्क्रान्तिको अनुश्रुति
आदिम कालमा मानवको उत्पत्तिसँगै मान्छेहरू आफ्नो भोक, प्यास मेटाउन वन–जंगल र भिरपाखासँग मित लगाए । भोक मेटाउन बनैया (जनावर)हरूसँग लुकामारी खेल्दै भौँतारिए । खोजका लागि यात्रा गर्दै जाँदा मान्छेहरू ढुंगे युगबाट कृषि युगमा प्रवेश गरे । प्रविधि युगमा आइसकेपछि पनि मानवले बिर्सिन नसकेको इतिहास भनेको सिकारी युग हो । सिकारी युगताका धनुष र वाणको विकास भएको मानवशास्त्री र समाजशास्त्रीहरूले गरेका छन् ।
माघेसङ्क्रान्तिको उत्पत्तिको कथा ठ्याक्कै सिकारी युगसँग मिल्छ । मगर समुदायमा प्रचलित अनुश्रुतिअनुसार उवेला मगरहरूको पुर्खा पनि अन्य जातिजस्तै सिकार खेल्थे । स्याँबु नामको एक मगर युवा आफ्नो साथीहरूसँग सिकार खेल्न जाँदा को अगुवा सिकारी भन्ने विषयमा साथी–साथीबिच झगडा भयो । सिकार नखेली समूह वासस्थान फर्के । युवा सिकारीको झगडाले उग्र रूप लिन नपाउँदै झगडाबारे समूहलाई चोटपटक लाग्दा औषधि गरिदिने, तन्त्रमन्त्र जानेबुझेका रमा झाँक्रीले थाहा पाए ।
माघेसङ्क्रान्तिको दिन रमा झाँक्रीले आफ्नो शिरमा राखिएको कालिजको प्वाँख निकालेर पूर्व र पश्चिम गरी दुई ठाउँमा राखिदिए । जसले आ–आफ्नो वाण प्रयोग गरी प्वाँखलाई प्वाल पार्छ, त्यसैलाई मूल सिकारी बनाउने र उसैको योजनाअनुसार सिकार खेल्ने निर्णय रमा झाँक्रीले सुनाए ।
स्याँबु नामको युवा सिकारी माघेसङ्क्रान्ति आउनुभन्दा अघि अर्थात् २२ दिनपहिले हिमालको काखतर्फ निगालाको खोजीमा हिँड्यो । मूलको पानी र हिमालमै पाइने धूप बालेर निगालाको जरामा चढाउँदै वाण बनाउन निगाला काट्यो अनि जरमुथा सर (वाण) बनायो । हिमालको काखबाटै धूप र चोखो पानी लिएर माल मध्येस (गर्मी ठाउँ) पुग्यो । औलको बाँस काटेर धनुष बनायो । धनुष र वाणलाई माघेसङ्क्रान्ति आउनुभन्दा २२ दिनपहिले अर्थात् पुस १२ गतेको दिन पूर्व, पश्चिम, उत्तर, दक्षिण गरी चार दिशा फर्केर आकाशतर्फ परीक्षण गर्यो ।
‘स्याँबु’को धनुष र वाण सुकेसँगै माघेसङ्क्रान्तिको दिन रमा झाँक्रीले आफ्नो शिरमा राखिएको कालिजको प्वाँख दुईवटा निकाले । सबैको आँखाले देख्ने गरी पूर्व र पश्चिम दुई ठाउँमा राखिदिए । सिकारी युवाले पालैपालो सोही प्वाँखलाई धनुष र वाणले छेड्ने कोसिस गरे । प्वाँखलाई कसैले छेड्न सकेनन् । स्याँबुको पालो आयो र एकैपटकमा पूर्वतर्फ राखिएको प्वाँखलाई धुजाधुजा बनायोे । झाँक्री खुसी हुँदै आफ्नो शिरको प्वाँखहरू सबै निकालेर स्याँबुलाई लगाइदिए । सोही दिनदेखि सिकारी युवाको अगुवा सिकारी स्याँबुले झाँक्रीको सरसल्लाह लिँदै सिकारीको नेतृत्व समाल्यो ।
सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्दै गर्दा ‘स्याँबु’को प्रृेम युँफी नामक महिलासँग बस्यो । आफ्नो परिवारसँगै युँफीको परिवारलाई सघाउने कार्यहरू भइरहँदा उनीहरूको विवाह भयो । पहिलो रात शारीरिक सम्पर्क भयो । त्यसैको भोलिपल्ट समूह छाडेर स्याँबु एक्कासि अलप भयो । स्याँबुलाई खोज्न रमा झाँक्रीले आफ्नो देवता बोलाउँदै काँप्न थाले । रमा झाँक्रीको देवतासँगै स्याँबु अदृश्य रूपमा रमा झाँक्रीको शरीरमा आइपुग्यो । आफू मृत्यु नभएको र हिमालको काख (खागर)हरूमा आफ्नो पाप पखाल्दै देवताहरूसँग बसेको र आफ्नो बा–आमा अनि युँफीलाई अलमलमा पारेर आफू अलप भएकोमा माफी माग्दै रमा झाँक्रीको देवतासँगै हरायो ।
देवताहरू आफ्नो बाटो लागेपछि रमा झाँक्रीको होस आयो । उनका अगाडि युँफीलगायत सबै समूह बसेको देखे । स्याँबु नफर्किने समाचार सुनाए । स्याँबुको सम्झनामा वासस्थाननजिकै लाँकुरी रुख रोप्न र हरेक वर्ष उसको सम्झनामा पूजा गर्न युँफीको परिवारलाई आग्रह गरे ।
स्याँबु अलप भएको अर्को वर्ष पुनः अर्को नेतृत्व चुन्ने योजना रमा झाँक्रीले समूहमा सुनाउँछन् । जर–मुथा सर (वाण) काट्न जाँदा आफ्नो स्याँबु भेटिने आसमा युँफीले पनि प्रतियोगितामा भाग लिने निर्णय सुनाउँछिन् । धनुष र वाण बनाउन जाने सिकारीहरूको बाटो हेराउन काँप्दै आफ्नोे देवताहरू बोलाउँछिन् ।
‘हिमालको काख रहेको निगालाहरू सबै सुकेको छ । तर, तिमीहरूले खोज्यो भने एक जठ्ठा बिरुवा खागरनजिकै बचेको देखिन्छ । त्यो बिरुवा जसले ल्याउँछ । उसको मनोकामना पूरा हुने छ,’ भन्दै काँपिरहेको रमा झाँक्रीको पितृले (मृत्यु भएको पुर्खा) ले समूहलाई सुनाउँछ ।
रमा झाँक्रीको देवताहरूले सुनाएअनुसार सबैजना हिँउ छिचोल्दै हिमालको काखतर्फ लाग्छन् । निगालाको बिरुवा देख्न नपाउँदै आधा बाटोमा भयानक हावाहुरी चल्छ र हिउँ पर्न थाल्छ । समूह अगाडि बढ्न नसकी आधा बाटोमा रोकिन्छ । तर, युँफीको यात्रा रोकिँदैन । समूहका सबैले सम्झाउँदा–सम्झाउँदै पनि युँफी हिमालतर्फ लाग्छिन् । हेर्दाहेर्दै कुहिरोसँगै उनी अलप हुन्छिन् । रात पर्न थालेपछि युँफीलाई छाडेर समूह वासस्थानतर्फ फर्किन्छ । उनीहरू वासस्थान पुग्दा नजिकै निगालाको बिरुवा उम्रेको देख्छन् । झाँक्रीले थाहा नपाउने गरी समूहले निगाला काटेर जर–मुथा सर(वाण) बनाउँछन् । झाँक्रीले थापेको कालिजको प्वाँख सबैजनाले निसाना लगाउँछन् । फेरि पहिलेकोझैँ मिलेर सिकार खेल्न थाल्छन् । झाँक्रीको सल्लाहअनुसार सोही दिनदेखि स्याँबु र युँँफीको सम्झनामा माघेसङ्क्रान्ति मान्ने चलन सुरु भयो भनेर मगर गाउँमा कथा सुन्न पाइन्छ ।
मगर समुदायमा माघे सकाराती मनाउने विधि
माल खुंरी चौर पुगेर लि–बाँस
खागर पुगी जरमुथा सर
बिचैमा हानेको स्याँबु
बिचैमा हानेको
बाबुको छोरा, ब्राजुको नाति…।
अठार मगरात क्षेत्रका मगर गाउँमा माघेसङ्क्रान्तिका दिन पुर्खादेखि अहिलेको पुस्तासम्म गाइँदै आएको गीतलाई ‘स्याँबु’ गीत भनिन्छ । गाउँअनुसार भाषाको लवज फरक पर्ने भएकाले कुनैकुनै ठाउँमा स्याम्भो पनि भन्ने गरेको पाइन्छ । तर, समग्रमा स्याँबु शब्द नै अपभ्रंश हुँदै स्याम्भो भएको भन्ने सुनिन्छ । यो गीतमा गाइने शब्दले पनि मगरहरू माघेसङ्क्रान्तिको उत्पत्ति कसरी भयो ? ‘स्याँबु’ मगरहरूको सिकारी पुर्खा हुन् भनेर गीतमा पाइन्छ । बाँकी त मानवशास्त्री, समाजशास्त्री र अनुसन्धानकर्ताले खोज्दै जालान् ।
नमचुई : मगर गाउँहरूमा पुस १२ अर्थात् माघेसङ्क्रान्ति आउनुभन्दा २२ दिनपहिलेदेखि नै धनुष र वाण जम्मा गर्ने र चारै दिशातर्फ परीक्षण गरी धनुष र वाणलाई उद्घाटन गर्छन् । जसलाई ‘नमचुई’ भन्ने गरिन्छ । सोही दिनदेखि गाउँमा धनुष र वाण प्रयोग गर्न पाउने चलन अझै पनि प्रचलित छ ।
चेली पुज्ने : माघेसङ्क्रान्ति अथवा माघ १ का दिन उज्यालो नहुँदै गाउँका पुरुषहरू मूलपानी पुगेर नुहाउँछन् । फलफूल, रोटीको परिकार, चामलजस्ता खानेकुरासँगै आफ्नो क्षमताले भ्याएजति पैसा तामाको थालमा हालेर चेली पुज्न जान्छन् । जसलाई रोल्पाका मगर गाउँमा मिश्रा पनि भन्ने गरिन्छ । सोही दिन चेली र दाजुभाइ गाउँमा हुँदाहुँदै पनि चेली पुज्न गएन भने दाजुभाइ र चेलीको सम्बन्ध नराम्रो भएको मानिन्छ ।
तारा हान्ने : माघ १ का दिन पुस १२ मा तयार बनाएको धनुष र वाणलाई मादल, नरसिङ्गा, सहनाई, दमाहा अनि भ्mयाली बजाउँदै तारा थापिएको चौरसम्म पुर्याउँछन् । गाउँकै सबैभन्दा धेरै उमेरका व्यक्तिलाई पूर्व र पश्चिममा काठको दुईवटा फल्याक थाप्न लगाउँछन् । तारा अर्थात् काठको फल्याक थापिसकेपछि गाउँको कटुवालको टोपी राखिन्छ । गाउँलेहरू धनुष र वाण लिएर ‘स्याँबु’को सम्झनामा ‘स्याँबु’ गीत गाउँदै तारा हान्ने चलन अहिले पनि अठार मगरात क्षेत्रमा व्यापक छ ।
उट्घाट्न भएपछि गाउँका युवा पूर्व र पश्चिम समूह गरी दुई समूहमा विभाजन हुन्छन् । पूर्वतर्फको समूहले जित्यो भने गाउँलाई फलिफाप हुने र पश्चिमतर्फको समूहले जित्यो भने गाउँमा दुःखकष्ट सुरु हुने जनविश्वास अझै पनि छ ।
युँफी मसान : अहिले पनि युँफी मसानको नाम लिएर माघेसङ्क्रान्तिको दिन रुकुमपूर्वको बाछिगाउँका युवायुवती अँध्यारो कोठामा आँखा बन्द गरी खेल खेल्ने गर्छन् । रोल्पाको थवाङ गाउँमा युँफीको कथा केही मात्रामा लोप भए पनि बच्चाहरू टोली बनाई घर–घरमा पुगेर मस्यान्द्रा माग्ने गर्छन् । घरधनीले आफूसँग भएका जिनिस दिनेलाई ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ ।
कुन्डुले हान्ने चलन : महिलाहरूले बुंगुरको मासु, रोटीका परिकार र तरुललाई भित्तामा राखिदिन्छन् । पुरुषहरूले ‘युँफी’लाई हामीले मारेको होइन भन्ने विश्वास दिलाउन भित्तामा राखेको परिकारलाई वाण हानेर विश्वास जित्ने चलन छ । त्यो सामग्रीलाई मगर खाममा ‘कुन्डुले’ भन्ने गरिन्छ ।
माघसँगै कुन्डुले संस्कृति विकसित भएर मामाको छोरी तान्ने संस्कृतिमा परिणत भयो । भेना साइनो पर्ने पुरुषलाई महिलाले आ–आफ्नो नाममा ‘कुन्डुले’ थापिदिने र आफ्नो भाग्य परीक्षण गर्ने चलन आयो । भाग्य परीक्षणका लागि थापेको ‘कुन्डुले’ पुरुषले लगायो भने ‘कुन्डुले’ थाप्ने महिलाको इच्छा नभए पनि सोही पुरुषसँगै विवाह गर्नुपर्ने चलन बस्यो । आजभोलि विवाह नै नगरे पनि ‘कुन्डुले’ हान्ने चलन रहिआएको छ ।
युँफीको पुत्ला जलाएर काजकिरिया : माघेसङ्क्रान्तिका दिन पुरुषहरू तारा हान्ने खेल खेल्छन् । तर, महिलाहरू विरोधस्वरूप तारा फोर्न जाँदैनन् । उनीहरू हिउँमा हराएकी ‘युँफी’को नाममा आ–आफ्नो घर–घरमा फलफूल र खानेकुराहरू जम्मा बनाई ओडारमा पुगेर पकाउँछन् । उतै वास बस्छन् । नौवटा रंगका कपडा जम्मा बनाएर ‘युँफी’को सुद्री अर्थात् काजकिरिया गर्नलाई उसको पुत्ला बनाउँछन् । मान्छेको मृत्युपछि गाइने गीत गाउँछन् अनि (लँसिन्य)रुन्छन् । पुरुषले ‘युँफी’को पुतलालाई बोकेर खोलासम्म पुर्याउन सहयोग गर्छन् र जलाएपछि पुरुषहरू फर्केर घर जान्छन् । महिलाहरू युँफीको (सुद्री) काजकिरिया गर्छन् ।
लोप हुँदै माघेसङ्क्रान्ति : माघेसङ्क्रान्ति चाड अहिले मगरभित्रै पनि मनाउने शैलीमा ठाउँअनुसार परिवर्तन हुँदै आएको छ । अठार मगरात, बाह्र मगरात र काइके गरी भाषागत हिसाबले छुट्टिएका छन् । सबै मगर समुदायले माघेसङ्क्रान्ति मान्दै आए पनि धेरै कुरा लोप हुने खतरा छ ।