जोमसोम। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले घाँसा-झिप्रा देउराली-कुन्जो-टिटी-कोखेठाँटी-सौरु-चोखोपानी-मार्फा हुँदै ठिनी-जोमसोम जोड्ने वैकल्पिक पदमार्गमा नयाँ सूचना बोर्डहरू (साइन पोस्टिङ) राख्ने कार्य सम्पन्न गरेको छ।
सौरु गाउँदेखि चोखोपानीसम्मको खण्डमा नयाँ बोर्डहरू राख्नुका साथै पुराना, जीर्ण अवस्थामा रहेका सूचना बोर्डहरूलाई पुनः रंग्याएर व्यवस्थापन गरिएको छ। साथै, उक्त पदमार्गको विस्तृत सर्वेक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनको कार्य माघ १६, १७ र १८ गते इलाका संरक्षण कार्यालयका कर्मचारीद्वारा सम्पन्न गरिएको थियो।

उक्त कार्यले वैकल्पिक पदमार्ग प्रवर्द्धन गर्न मद्दत पुग्ने तथा मुक्तिनाथ-जोमसोम हुँदै घाँसासम्म मोटर बाटोको वैकल्पिक पर्यटकीय मार्गको रूपमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ।