२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

“हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो”:मन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालकाे संरक्षण हामी सबैकाे साझा कर्तव्य रहेकाे उद्घाेष गर्नु भएकाे छ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउनु भएकाे हाे ।

सम्मेलनमा सम्बाेधन गर्दै मन्त्री पाण्डेले भन्नुभयाे, “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ।” उहाँले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्‍याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गर्नुभयाे। “उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,” मन्त्री पाण्डेले थप्नुभयाे।

सरकार पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताउनु भयाे। साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उहाँले जनाउनु भयाे।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भन्नुभयाे “यी हिमालहरू पवित्र छन्, र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।”

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्दै उहाँले भन्नुभयाे, “अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ।”उहाँले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयाे। सम्मेलनका क्रममा स्वदेशी देखि विदेशी पर्वताराेहीलाई सम्मान समेतत गर्नुभएकाे थियाे।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार ००:००  १ : १८ बजे