३० असार २०८२, सोमबार | Mon Jul 14 2025

तस्बिर प्रदर्शनी पर्वतीय पर्यटनका निम्ति महत्वपूर्ण माध्यम : जोशी



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले राससको तस्बिर प्रदर्शनी नेपालको पर्वतीय पर्यटन विकासका निम्ति महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि सीइओ जोशीले देश चिनाउने राससको महत्वपूर्ण तस्बिर प्रदर्शनीलाई अझ धेरै मानिसहरुसामु पुर्‍याउन जरुरी भएको उल्लेख गरेका हुन् ।

सीइओ जोशीले भने,“तस्बिर प्रदर्शनी अत्यन्त जानकारीमूलक, रोचक र रमणीय फोटोहरु छन् । यसले एउटा त ‘देश कस्तो छ’ भनेर ज्ञान दिनछ । सँगसँगै हामीलाई घुम्नलाई लालाहित बनाउने खालको छ । तस्बिर प्रदर्शनीलाई अझ बढी भन्दा बढी मानिसलाई कसरी देखाउन सकिन्छ, यसका लागि बोर्ड सहकार्य गर्न प्रतिवद्ध छ ।”

उनले पर्यटनमार्फत देशको अनुपम सुन्दरतालाई पस्किएर आर्थिक आय अर्जन गर्न सकिने धारणा राखेका छन् । “हामीले पर्यटनमार्फत पस्किनसकिने धेरै चिजहरुछन्”, उनले भने,“यी तस्बिरहरुले देशको संस्कृति र सभ्यतालाई उजागर गर्न मद्दत पुग्छ । युवा पुस्तामा देशमै केही गर्नसकिन्छ भनेर झकझकाउछ । त्यतातिर लाग्यो भने आय आर्जन पनि हुन्छ र देशको सुन्दरतालाई पनि चिनाउन सकिन्छ । यसले ठूलो संभावनाका क्षेत्रहरुलाई उजागर गर्छ ।”

सिइओ जोशीले प्रदर्शित तस्बिरलाई पुस्तकको रुपमा प्रकाशन गरेर विभिन्न फोरमहरुमा प्रस्तुत गर्नसकेको खण्डमा नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवापुग्ने विश्वास व्यक्त गर्नुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीबारे जानकारी गराउदै प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार ००:००  ८ : २१ बजे