३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

फुर्वा ग्याल्जेन शेर्पाद्वारा पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी



काठमाडौं। नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’ भन्ने नारा सहित शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
संघको निर्वाचन भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ। संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरुको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए।

संघको सदस्य भएको गर्व महसुस प्रत्येक सदस्यले गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सञ्चालन गर्ने उनले बताए। यस्तै आरोहीहरुको हकहित संरक्षणका लागि र आपतकालिन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थीत गर्ने प्रतिबद्धता जनाए। हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन सकिरहेको छैन।

हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएको कारणले धेरै नेपालीहरुले विदेशमा गएर पढ्नु पर्ने र सिक्नु पर्ने बाध्यता रहेको उनले बताए। ‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केहि कलेजमा हुन्छ। तर, विश्व विद्यालयकै रुपमा नेपालमा नभएकोले माउन्टेन एडभेन्चर युनिभरसिटी खोल्नका लागि सुरुवात गर्ने छु’, अध्यक्षका आकंक्षी शेर्पाले भने ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधि सम्बन्धी पढ्न जाने हजारौं युवाहरुले नेपालमै पढ्न पाउछन्।’ अहिले पनि केहि युवाहरुले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ(युआइएजीएम)का सदस्य लिएका छन्।

ती युवाहरुले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्छन र वीन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए। ‘यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भएमा ती युवाहरु विदेशमा गएर काम गर्नुपर्ने बाध्यतानै हट्छ। यही बसेर लाखौं रुपैया काम गर्न सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीहरु समेत यहि पढ्न आउछन्,’ अध्यक्षका उम्मेदवार शेर्पाले भने ‘किन कि हामी कहाँ त विश्वविद्यालय मात्र हैन उनिहरुले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउछन्। जुन विदेशमा छैन।’

पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभरसिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने छ र विदेशीहरुलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुनसक्ने उनले बताए।

‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो। जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्र्नुपर्छ र मेरो प्रमुख एजेण्डानै यहि छ’ उनले भने।

विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधा सम्पन्न आरोहण सम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ठ खालको तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए।

हाल कोङबुचे, थामे, मनाङ, पोर्चे लगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहेपनि समन्वयकारी भूमिका पर्वतारोहण सघंले गर्न नसकिरहेको अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ठ बनाउने तर्फ ध्यान केन्द्रित गर्दै त्यसलाई अझ राम्रो बनाउदै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीहरुलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।

‘प्रकृतीले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ र ८ हजार भन्दा माथिका धेरै हिमालहरु नेपालमै छन। तर, नेपालीहरुले राम्रोसँग हिमाल सम्बन्धी पढ्न नपाएको कारणले अहिले पनि धेरै विदेशी टुर गाइडहरु नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन्’ शेर्पाले भने ‘अव नेपालीलाई नै सक्षम बनाउने मेरो अभियान हो।’

विश्व किर्तिमानीहरुलाई विमानस्थलमा विषेश सुविधा

अध्यक्षमा निर्वाचीत भएपछि हिमाल आरोहण गरेर विश्व किर्तिमानी राखेकाहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विषेश सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘विश्व किर्तिमानी भनेको सामान्य विषय हैन, त्यसैले रेकर्डधारीहरुलाई विषेश सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो किर्तिमानी प्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता मेरो छ’ शेर्पाले भने ‘उहाँहरुको शिर ठाठो हुनुभनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले किर्तिमानी आरोहीहरुको सम्मानका लागि सरकारसँग विषेश पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु।’

हिमाल जोगाउन विषेश पहल

अहिले जलवायु परिवर्तनको नाममा विभिन्न एनजिओ र आइएनजिओहरुले कमाई खाने माध्यमको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ। ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै गएको छ। तर, सहरमा त्यहि हिमाल संरक्षण र जलवायु परिवर्तनको बारेमा गोष्टी गरेर करोडौ रुपैयाँ स्वाहाँ बनाइरहेको छ’ उम्मेदवार शेर्पाले भने ‘हिमाली क्षेत्रमा पछिल्लो समय वर्षैै पिच्छे हिमतालहरु फुटिरेहका छन्, हिम पहिरो गइरहेको छ। त्यसैले जलवायु परिवर्तनले कहाँ कहाँ असर गरेको छ र त्यसबाट बचाउनका लागि के के गर्न सकिन्छ र के गर्ने भन्ने विषयमा सम्बन्धीत ठाउँमा त्यहीका पर्वतारोहीहरुसँगै समन्वय गरेर जिम्मेवारी दिने छु।’ उनिहरुको सुझाव अनुसार कुन क्षेत्रमा के के गर्दा संरक्षण हुन्छ र हिमाल जोगाउन सकिन्छ भनेर काम गर्ने र जलवायु परिवर्तन सम्बन्धी काम गर्ने सघंस्थाहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताए।

स्थानीय स्तरमै रेस्क्यू टिम

युरोप, अमेरिका लगाएतका मुलुकहरुमा आरोहणमा जानेहरुको उद्धारका लागि छुट्टै रेस्क्यू टिम बनाएको हुन्छ। नेपालमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै रेस्क्यू टिम ढिला पुग्नु नै हो। जव खराव मौसम हुन्छ त्यो बेला ठूला दुर्घटनाहरु हुने गरेको छ। जति बेला मौसम विग्रिन्छ त्यो बेला हुने दुर्घटनाको क्रममा खोज तथा उद्धारका लागि टिम पठाउन निकै समस्या हुन्छ। रेस्क्यूमा विज्ञता भएकाहरु सबै काठमाडौंमा हुने भएकोले मौसममा आएको समस्याको कारणले तीन चारदिनसम्म पठाउन सकिदैन। त्यसैले हिमाली क्षेत्रहरुमा त्यहीका स्थानीयहरुलाई रेस्क्यू सम्बन्धी तालिम दिने र रेस्क्यूका सम्पूर्ण उपकरणहरु नै त्यहि ठाउँमा राख्ने योजना उनको छ। र ती सबै तालिम प्राप्तहरुलाई हरेक वर्ष तालिम दिने र उनिहरुको सबै सम्पर्क विवरणहरु एकिकृत गरेर राख्दा जुनसुकै बेला हुने दुर्घटनामा तत्कालै उद्धार गर्न सकिन्छ। जसको कारण समयमै उद्धार नभएर ज्यान बचाउन नपाएकाहरुलाई बचाउन सकिन्छ।

को हुन फुर्वा ग्याल्जेन

सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै पढ्दै उनि आरोहण क्षेत्रमै सक्रिय भए। उनले पढाई र कामलाई समानन्तर रुपमा अगाडी बढाए। पढाइ सकेपछि आफ्नै कम्पनी खोलेर व्यवसायीक यात्रालाई अगाडी बढाए।
उनले ६ हजारभन्दा माथिको १ वटा हिमाल आरोहण गरेका छन्। ‘सगरमाथा आरोहण गर्ने सपना भएपनि चार दशक अघि अहिलेको जस्तो हिमाल आरोहण गर्दा पर्याप्त इकुमेन्टहरु नभएको र वर्षेनी ठूलो संख्यामा हिमाल चढ्न जाने शेर्पाहरुको ज्यान जाने भएकोले परिवारबाट त्यो बेलामा अनुमति पाइन’ उनले भने ‘बाउ आमाको एक्लो सन्तान भएकोले पनि हिमाल चढ्नका लागि रोक्नु भयो।’
हिमाल नचढेपनि त्यस क्षेत्रमा काम गरे र हिमाल चढेर आउनेहरुसँग त्यस क्षेत्रको बारेमा राम्रा नराम्रो विषयमा सोधखोज गरिरहन्थ्ये। र, केहि समस्याहरु आएमा सरकारका प्रतिनिधिहरुलाई भनेर समधानका लागि पहल गरिरहन्थ्ये।
हिमाली क्षेत्रको रहनसहन, समस्या र त्यहाँको वातावरणको बारेमा नजिकबाट नियाल्थ्ये। उनि बाल्यकालदेखि अहिलेसम्म पर्वतिय पर्यटनसँग निकटनै भएर काम गरिरहेका छन्।
पर्वतारोहणसँगमा उनि पहिलो पटक सन् १९९९ देखि २००२ सम्म कार्यसमिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखको रुपमा पनि उनले काम गरे। पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम,वालक्लाइमिङ प्रतियोगितामा तीन पटक संयोजक भएर काम गरिसकेका छन्।
त्यसबाहेक नेपालको हिमाली क्षेत्रमा हुने दुर्घटना र परिघटनासँग सधैभरी नजिकबाट नियालेर समाजसेवा र उद्धारको काम गरिरहेका छन्। ‘मेरो जिवनमा सबैभन्दा बढी काम गरेको र समय विताएको क्षेत्रनै पर्वतारोहण क्षेत्र नै हो, यसैमा बाँकी समय नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने चाहना राखेको छु’ उम्मेदवार शेर्पाले भने ‘अहिलेसम्म जे जति ज्ञान हासिल गरे ती सबै पर्वतारोहण संघको नेतृत्वमा रहेर गर्न खोजेको हुँ। ’

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ००:००  ३ : ४७ बजे