३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

आन्तरिक उडानमा यती जहाजको २६ वर्ष



मुलुकको अग्रणी एयरलाइन्स कम्पनी यती एयरलाइन्स २७औँ वर्षमा प्रवेश गरेको छ।

तत्कालीन हवाइ विभागबाट कम्पनीले सन् १९९८ मेमा व्यापारिक उडानको अनुमति पाएको थियो। सोसँगै सन् १९९८ सेप्टेम्बर २१ मा पहिलो पटक नेपाली आकाशमा उडान भरेको थियो।

सोही पहिलो उडान गरेको दिनलाई कम्पनीले हरेक वर्ष वार्षिकोत्सवका रुपमा मनाउने गरेको छ।

तत्कालीन समयमा संस्थापकद्वय लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले हिमाली नगरी लुक्लामा पर्यटक र स्थानीयलाई सेवा दिन १९ सिट क्षमताको दुई थान ‘डीएचसी६–३००’ ट्विनअटर जहाजमार्फत उडानको थालनी गरेका थिए।

अहिले कम्पनीले व्यवसाय सुरुवातको झण्डै तीन दशक पूरा गर्नलागेको छ।

लामो समयदेखि हवाइ सेवा प्रदान गरिरहेको यती एयरलाइन्सले ७ वटा एटीआर–७२ जहाजमार्फत सहरी क्षेत्रमा उडान भरिरहेको छ।

तारा एयर सञ्चालनमा आउनुअघि यतीले दुर्गम क्षेत्रमा पनि उडान गरिरहेको थियो। हालका लागि भने यतीले सुगम क्षेत्रमा ७ गन्तव्य काठमाडौं, झापाको भद्रपुर, मोरङको विराटनगर, धनुषाको जनकपुर, कास्कीको पोखरा, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्जमा उडान गरिरहेको छ।

हाल वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

कम्पनीले पछिल्लो समय व्यवसायमा प्रगति गरिरहेको छ। यतीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, सन् २०२२ मा ३ अर्ब ९२ करोडको व्यापार गरेको थियो।

मुलुकका अन्य गन्तव्यमा पनि सेवा प्रदान गर्न यतीले जहाज थप्ने योजना बनाएको थियो। तर अहिले विस्तारको योजना थाती राखिएको बर्तौला बताउँछन्।

‘अन्तर्राष्ट्रिय बजारमा स्पेयर पार्टस्को अभाव छ। समयमा मर्मतसम्भार नहुँदा समयमा उडान भर्न सकिएको छैन। साथै मुलुकमा आएको परिवर्तनले आगामी दिनमा आर्थिक गतिविधि कसरी अघि बढ्छ भन्ने दुविधा छ। तत्कालै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना छैन। अर्थतन्त्र चलायमान नहुँदा जहाज थप्दा आर्थिक भार बढ्न जान्छ’, उनले भने।

मुलुकमा उत्पन्न विषम परिस्थितिले गर्दा यतीले जहाजमा लगानी थप्ने योजना केही समयका लागि स्थगन गरेको छ।

क्रयशक्ति कम हुँदा जहाजको भाडा बढेको छ। हाल नाफाभन्दा पनि सेवाका लागि मात्र एयरलाइन्स कम्पनीहरुले उडान गरिरहेको उनले जानकारी दिए।

हालको अवस्थामा यतीले उपलब्ध जहाजलाई उच्च क्षमता, समयमै र उपलब्ध गन्तव्यमा अधिकतम उडान भर्ने योजना बनाएको छ।

यतीले दैनिक दुई माउटेन फ्लाइट पनि सञ्चालन गरिरहेको छ।

कम्पनीले सन् २००९ देखि भगिनी वायुसेवाका रूपमा तारा एयर पनि सञ्चालन गरिरहेको छ। ताराले दुर्गम भेगका अधिकांश विमानस्थलमा उडान गरिरहेको छ।

यती एयरलाइन्स पछिल्लो समय आईपीओ निकाल्ने योजनामा छ। यसकै लागि कम्पनी गत वर्ष जेठमा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। आईपीओमा जान डकुमेन्टेसन र आन्तरिक कार्य भइरहेको बर्तौलाले जानकारी दिए।

आन्तरिक उडानमा यती एयरलाइन्सको हिस्सा २१ प्रतिशत छ।

कम्पनीमा ४६.८२ प्रतिशत सेयर एसियन लाइफ इन्स्योरेन्सको छ भने २५.०३ प्रतिशत सोनाम शेर्पा र २०.०६ प्रतिशत चन्दा शेर्पाको सेयर स्वामित्व छ।

यती एयरलाइन्सले ‘डोर टु डोर कार्गो सेवा’ सुरु गर्न गत भदौमा उपाय सिटी कार्गोसँग सहकार्य गरेको छ। यस सेवामार्फत ग्राहकले घरमै बसी–बसी डिजिटल प्लेटफर्म ‘उपाय कम्प्लिट’ प्रयोग गरी कार्गो बुकिङ गर्न सक्नेछन्।

ग्राहकका सामान उपायले घरमै संकलन गरी तोकिएको स्थानमा पुर्याउने व्यवस्था हुनेछ। साथै, मोबाइल वा वेबमार्फत बुकिङ र रियल–टाइम ट्रयाकिङ गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ००:००  ९ : ५१ बजे