चीनको जासुसी गर्न अमेरिकी गुप्तचर संस्था सीआईएले भारतको हिमालमा पुर्याएको आणविक उपकरण हराएको घटना फेरि चर्चामा आएको छ। हालै द न्युयोर्क टाइम्सले १९६५ मा सो उपकरण नन्दादेवी हिमालमा राख्न लैजाँदै गर्दा कसरी हरायो भन्ने खोज प्रकाशित गरेको छ।
७८१६ मिटर अग्लो नन्दादेवी नेपालभन्दा पश्चिमतर्फ पर्ने गढवाल क्षेत्रमा पर्छ। त्यसबेला चीनले भर्खरै आणविक बम परीक्षण गरेको थियो। त्यसैले अमेरिकाले भारतको सहयोगमा चीनको जासुसी गर्न एसएनएपी–१९ सी नामक सो उपकरण नन्दादेवी हिमालको टुप्पोमा राख्न खोजेको थियो।
तर, हिमालको शिखरमा पुग्नुअघि नै मौसम बिग्रियो। हिम आँधीले ज्यान लिने भएपछि आरोहीहरूलाई तल झर्न भनियो।
सो उपकरणमा जापानको नागासाकीमा प्रहार गरिएको आणविक बमको एक तिहाइ प्लुटोनियम रहेको बताइएको छ।
रिपोर्टका अनुसार भर्खरै आणविक बम परीक्षण गरेको चीनले गरेका बम तथा क्षेप्यास्त्र विस्फोटहरूको जानकारी लिन अमेरिका चाहन्थ्यो। त्यसका लागि हिमालमा उपकरण राख्ने योजना बन्यो र त्यसको जिम्मा सीआईएले १९६३ मा सगरमाथा चढेका नेसनल ज्योग्राफिकका फोटोग्राफर बिल बिसपलाई दियो। उनले जिम मकार्थीलगायत पर्वतारोहीको सहायता लिए।
त्यसपछि सीआईएले भारतको सहयोग माग्यो। भारत त्यतिबेला १९६२ को युद्ध हारेर बसेको थियो।
‘हामीले चीनसँग युद्ध हारेका थियौँ। हारेको मात्र होइन, हामी अपमानित भएका थियोँ,’ पूर्व गुप्तचर अधिकारी आरके यादवको भनाइ टाइम्सले उधृत गरेको छ, ‘सायद यो योजनाबारे सरकारका दुई वा तीन जनालाई थाहा थियो होला।’
भारतको इन्टेलिजेन्स ब्युरोले नौसैनिक अधिकारी एमएस कोहलीलाई अघि सार्यो। कोहलीले ९ भारतीय आरोही दलको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेका थिए।
सीआईएको सुरुवाती योजना सो जासुसी उपकरण कञ्चनजंघामा राख्ने थियो।
‘बेकारको योजना थियो। मैले उनीहरूलाई भनेँ, जसले सीआईएलाई सल्लाह दिइरहेको छ, त्यो पटमूर्ख हो,’ कोहलीको भनाइ छ। उनको गत जुनमा मृत्यु भइसकेको छ।
कञ्चनजंघामा नभएपछि नन्दादेवीमा सो उपकरण राख्ने योजना बन्यो तर मौसमले साथ नदिँदा चौथो शिविरमै उपकरण छाडेर फर्किनुपर्यो।
आरोहीहरूको ज्यान जोगाउन हिमालमा सो उपकरण छाड्ने आदेश कोहलीले नै दिएका थिए। यस विषयलाई लिएर मकार्थी र उनको विवाद पनि भएको थियो।
१९६६ को मे महिनामा कोहली र सीआईएको टिम सो ठाउँमा पुग्दा सो उपकरण थिएन। त्यो उपकरण भएको ठाउँ नै गायब थियो। उनीहरूले हिमपहिरोले लगेको आकलन गरे।
त्यसपछि मात्रै सो उपकरणमा प्लुटोनियम रहेको आफूलाई बताइएको कोहलीको भनाइ छ। त्यसपछि दुई वर्ष लगातार खोज्दा पनि उपकरण नभेटिएको उनले बताएका छन्।
तातो भएको हुनाले सो उपकरण हिउँ अथवा हिमनदीमा भासिएको हुनसक्ने अनुमान गरिएको छ।
एक दशकभन्दा लामो समय यो कुरा गोप्य रह्यो। पछि पत्रकारहरूले यसको खुलासा गरे। यद्यपि, अमेरिकी सरकारले यसबारे केही बताएको छैन।
यस घटनालाई लिएर तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाइ र अमेरिकी राष्ट्रपति जिम्मी कार्टरबीच कुराकानी भएको थियो। विपक्षीले चर्को आलोचना गरेपछि देसाइले संसदमा उभिएर खतराको कुनै कारण नभएको बताएका थिए।
तर, अहिलेसम्म सो क्षेत्रमा बासिन्दा त्रसित् छन्। खासगरी गंगा नदीको पानीलाई सो प्लुटोनियमले विषाक्त तुल्याउने डर धेरैमा देखिन्छ। जुन नदी १५ सय माइलभन्दा लामो छ र यसले ठूलो जनसंख्याको जीवन चलाएको छ।
उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराज चिन्तित सुनिन्छन्।
‘रेडियोएक्टिभ उपकरण त्यहाँ छ। हिउँभित्र,’ उनी भन्छन्, ‘यो उपकरण खोजेर निकाल्नुपर्छ र डर निवारण गर्नुपर्छ।’
२०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आफूले यसबारे बताएको उनको भनाइ छ। न्युयोर्क टाइम्सबाट


