काठमाडौँ -ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच पर्यटन प्रवद्र्धन तथा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा टानका अध्यक्ष सागर पाण्डे र काटाका उपाध्यक्ष किम बिओमजेले सोमबार हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहमा नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क ताए–यङको पनि उपस्थिति रहेको थियो ।
समझदारीपत्र अनुसार नेपाल र कोरियाबीच द्विपक्षीय पर्यटन प्रवद्र्धन, आपसी मित्रता अभिवृद्धि तथा पर्यटन क्षेत्रका विभिन्न आयाममा सहकार्य विस्तार गर्ने लक्ष्य लिइएको छ । यसले दुवै देशका पर्यटन व्यवसायीबीच सक्रिय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
हस्ताक्षर समारोहमा काटाका महासचिव बे यङ चाङ, कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सेउङ वोनलगायत टानका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।

समझदारीपत्र अनुसार टानले काटा तथा कोरियाली ट्राभल एजेन्सीसँग सहकार्य गरी नेपाली पर्यटन उत्पादन र गन्तव्यहरूको प्रवद्र्धन गर्नेछ, जसले कोरियाली पर्यटकलाई नेपाल भ्रमण गर्न थप प्रोत्साहन गर्नेछ । साथै, कोरियाली पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सूचना आदान–प्रदान, सुरक्षा तालिम तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइनेछ ।
टानले कोरिया भ्रमण गर्न चाहने नेपाली पर्यटकलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूमा पनि काटासँग सहकार्य गर्नेछ । त्यसैगरी, काटाले नेपालमा कोरियाली पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम, अभियान तथा प्रवद्र्धनात्मक गतिविधि सञ्चालने गर्ने छ ।


