३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाद्वारा नेचर गाइड तालिम



सिङ्गटी । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले मङ्सिर २८ गतेदेखि ‘नेचर गाइड तालिम’ सुरु गरेको छ ।

आयोजनाको प्रधान कार्यालय सिङ्गटीमा गौरीशंकर संरक्षण क्षेत्रका आयोजना प्रमुख तुलसी प्रसाद दाहाल, सिएफयुन का अध्यक्ष रामचन्द्र खड्का तथा उद्योग वाणिज्य संघ सिङ्गटी शाखाका अध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थितिमा तालिमको शुभारम्भ गरिएको हो।
शुक्रबारसम्म सञ्चालन हुने उक्त तालिममा दोलखा जिल्लाबाट १५ जना र सिन्धुपाल्चोक जिल्लाबाट ५ जना गरी कुल २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको आयोजना प्रमुख दाहालले जानकारी दिए ।

डार्विन इनिसियटिभको सहयोगमा सञ्चालन भइरहेको यस नेचर गाइड तालिमले स्थानीय स्तरमै आधारभूत ज्ञान र सीप भएका जनशक्ति उत्पादन गरी पर्यटन क्षेत्रसँग जोड्ने लक्ष्य लिएको छ।

आयोजना प्रमुख दाहालले भने,‘तालिमले स्थानीय युवाहरूलाई प्रकृति, जैविक विविधता, संस्कृति तथा संरक्षणसम्बन्धी व्यवहारिक आधारभूत ज्ञान प्रदान गर्नेछ।यसबाट प्रशिक्षार्थीहरूले नेचर गाइडको आधारभूत ज्ञान सिप हासिल गरि पर्यटन प्रवद्र्धनसँगै पर्या पर्यटन, रोजगारी सिर्जना र संरक्षण प्रयासमा अलिकति भएपनि सहयोग पुग्ने विश्वास लिएका छौं।’

सिएफयुनका अध्यक्ष श्री रामचन्द्र खड्काले गौरीशंकर संरक्षण क्षेत्रको जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न प्रशिक्षित नेचर गाइडको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए ।

त्यसैगरी, उद्योग वाणिज्य संघ सिङ्गटी शाखाका अध्यक्ष महेश श्रेष्ठले गौरीशंकर संरक्षण क्षेत्र तथा दोलखा जिल्ला आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएतापनि केही सीमित क्षेत्रहरू मात्र चर्चामा आएको र धेरै सम्भावना युक्त क्षेत्रहरू अझै ओझेलमा रहेकोमा जोड दिए । यस प्रकारको तालिमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण र सक्रिय भूमिका खेल्ने श्रेष्ठको भनाई थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार ००:००  ११ : १३ बजे