नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी उपमहानिर्देशक देवचन्द्र लाल कर्णलाई प्रदान गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । पर्यटन सचिव मुकुन्द निरौलाले पनि कर्णलाई महानिर्देशकले प्रयोग गर्ने सबै अधिकारसहितको जिम्मेवारी दिइएको बताए ।
भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेपछि तत्कालीन महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेका थिए । हाल निलम्बनमा रहेका अधिकारीको स्थानमा नयाँ महानिर्देशक नियुक्त गर्न कानुनी बाटो खुला नभएकाले मन्त्रीस्तरीय निर्णयअनुसार पर्यटनमन्त्री अनिल सिन्हाले उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशक तोकेका छन् ।
मन्त्री सिन्हाका अनुसार, कर्णलाई तोकिएको व्यवस्था स्थायी नभई अस्थायी मात्र हो । यसअघि मन्त्रालयका सहसचिव मुकेश डंगोललाई दिइएको जिम्मेवारी ‘एक्टिङ’ हैसियतमा थियो र महानिर्देशकको काम डंगोलका लागि अतिरिक्त जिम्मेवारी मात्र थियो । अब डंगोल मन्त्रालयको काममा मात्र फर्केका छन् ।
यसअघि तत्कालीन महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेपछि १९ मंसिरमा प्रधानमन्त्री सुशीला कार्कीले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी दिएकी थिइन् । डंगोललाई अर्को व्यवस्था नभएसम्म मन्त्रालयबाटै प्राधिकरण हेर्ने जिम्मेवारी दिइएको थियो ।
प्रधानमन्त्री कार्कीले मंसिर २८ गते पर्यटन मन्त्रालयसमेत हेर्ने गरी अनिल सिन्हालाई पठाएकी थिइन् । शुक्रबार सहसचिव डंगोल मन्त्रालयमा फर्केपछि उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशक तोकिएको हो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, कर्णले शुक्रबारदेखि पदबहाली गरेका छन् ।


