१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

गोरखा-जितगढी पदयात्रामा सेना (फोटो फिचर)



नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ गोरखा–जितगढी पदयात्रा सुरू गरेको छ।

मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले बुधबार गोरखामा पदयात्रा शुभारम्भ गरेका थिए। पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाका सबैभन्दा पहिलो खडा भएका गण तथा गुल्ममा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गण हुन्। पदयात्रामा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन्।

पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई सतीघाटमा, तनहुँमा तैनाथ फौजले पाल्पामा तैनाथ फौजलाई केलादीघाटमा र पाल्पामा तैनाथ फौजले रुपन्देहीमा तैनाथ फौजलाई नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्नेछ।

पदयात्रा गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७ किमिको दुरीमा आयोजना हुने सेनाले जनाएको छ।

गोरखा नगरपालिका-६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा बुटवलस्थित जितगढी पुगेर वैशाख ७ गते समापन हुनेछ।

सोही दिन सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार ००:००  १२ : ५२ बजे