५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

सीर्टल होलिडेज ट्राभल एजेन्सीबाट ३२८ जना नेपालीमाथि ठगी, सात जना पक्राउ



ट्राभल एजेन्सीको नाममा करोडौँ ठगी गरेको आरोपमा प्रहरीले ६ भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ।

सीर्टल होलिडेज नामको ट्राभल एजेन्सीबाट सर्वसाधारणलाई युरोप, एसिया, अफ्रिका लगायतका १७५ देशमा भ्रमणमा जानको लागि फोन गरेर ट्राभल लट्री परेको छ भनि झुक्याएर करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।

यस्तो कार्यमा संलग्न ७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्ने नेपालमा सप्तरीको कन्चनरुप घर भई भक्तपुरको मध्यपुर ठिमी बस्ने २६ वर्षका विवेक रेग्मी रहेका छन्।

उनकै नाममा नेपालमा कम्पनी दर्ता गरेर ३२८ जनाबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी मनोहर प्रसाद भट्टले बताए।

अरु ६ जना भारतीय नागरिक छन्। भारतको हैदरावाद घर भई ललितपुरको महालक्ष्मी नगरपालिका २ बालकुमारी बस्ने ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षका साजिद ओमर सैयद, ३४ वर्षका महम्मद इमरान, ३३ वर्षका मिर खालिद हुसेन, ४० वर्षका रजाक महम्मद र ४२ वर्षका समादा गिरी रहेका छन्।

उनीहरुको सात लाख रुपैयाँ, कम्प्युटर तथा विभिन्न कागजात, छाप समेत बरामद प्रहरीले गरेको छ।

विवेक रेग्मीको नाममा गएको पुसमा मात्रै कम्पनी दर्ता गरेर कार्यालय स्थापना गरेको अनुसन्धानबाट खुलेको छ। कम्पनीको काम गर्नका लागि ३० जना नेपाली कर्मचारी राखेका थिए।

कर्मचारीहरुलाई कम्पनीको मुख्य कार्यालय भारतको हैदरावादमा रहेको भनिएको थियो। लट्री अफरमा सहभागी गराउन भाटभाटेनी, लविम मल, सिभिल मल, लगायतका स्थानहरुमा स्ट्रल राखेर फारम भर्ने गरेको पाइएको छ। फारम भर्ने सबैलाई लट्री पर्यो भनेर फोन गर्ने र कार्यालयमा बोलाउने गरेका थिए।

होलिडे प्याकेजको अफर भन्दै अफिसमा जानेहरुलाई त्यही दिन अन्तिम मिति रहेको भन्दै कम्पनीको खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए। तर रकम भुक्तानी गरिसकेका व्यक्तिहरुलाई भ्रमण नगराउने र रकम फिर्ता माग्दा पनि विभिन्न बहाना गरी नदिएको खुलेको छ।

थप अनुसन्धान भइरहेको पनि एसपी भट्टले बताए।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार ००:००  ७ : ०२ बजे