७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सगरमाथादेखि संसदसम्म: मिङ्मा ग्याबुको नयाँ अध्याय



काठमाडौं । विश्वका अग्ला हिमालहरूमा कीर्तिमान कायम गरेर अन्तर्राष्ट्रिय पहिचान बनाएका युवा पर्वतारोही मिङ्मा ग्याबु (डेभिड) शेर्पा अब राष्ट्रिय राजनीतिमा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक प्रणालीमार्फत उनी प्रतिनिधिसभा सदस्य बनेका हुन्।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरेपछि समानुपातिकतर्फबाट चयन भएका ११० जना सांसदको नामावली पनि सार्वजनिक गरेको छ। सोही सूचीअनुसार शेर्पा आदिवासी जनजाति पुरुष कोटाबाट सांसद बनेका हुन्।

ताप्लेजुङका शेर्पा सफल युवा पर्वतारोहीका रूपमा परिचित छन्। उनले सगरमाथा र माउन्ट केटु ६१ दिनभित्र आरोहण गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका थिए। जाडो याममा माउन्ट केटु आरोहण गर्ने नेपाली टोलीका सदस्यसमेत रहेका उनले उक्त हिमाल ६ पटक सफलतापूर्वक आरोहण गरिसकेका छन्।

पर्वतारोहण र हिमाली पर्यटन क्षेत्रमा लामो अनुभव भएका शेर्पा ‘एलिट एक्स्पेड’ प्रालिका सह–संस्थापक पनि हुन्। उनले आफ्नै कम्पनीमार्फत धेरै नेपालीलाई रोजगारी दिँदै आएका छन्। साथै उनले गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेका छन्।

शेर्पाले १८ वर्षको उमेरदेखि पर्वतारोहण सुरु गरेका थिए। सन् २००९ मा मनास्लु हिमालको अभियानमा किचन हेल्परका रूपमा काम गर्दा उनले पर्वतारोही बन्ने लक्ष्य लिएका थिए। त्यसअघि उनी भरिया र ट्रेकिङ गाइडका रूपमा काम गर्थे।

नेपालको पर्यटन प्रवर्द्धनमा उनको योगदान महत्वपूर्ण मानिन्छ। उनी नेपाल पर्वतारोहण संघ (एनएमए) का प्रथम उपाध्यक्षसमेत रहिसकेका छन्। हिमाली पर्यटन क्षेत्रमा प्राप्त अनुभवलाई नीतिनिर्माणमा उपयोग गर्ने उद्देश्यले उनले राजनीतिमा प्रवेश गरेका हुन्।

उनी विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू सबैभन्दा कम उमेरमा आरोहण गर्ने पहिलो आरोहीसमेत हुन्। ‘सेभेन समिट’ अन्तर्गत सातै महादेशका उच्च शिखरमध्ये उनले ६ वटा सफलतापूर्वक आरोहण गरिसकेका छन्। अब कार्स्टेन्ज पिरामिड आरोहण गरेपछि यो उपलब्धि पूरा हुनेछ।

अब सांसदका रूपमा शेर्पाले पर्यटन क्षेत्र, हिमाली समुदाय र पर्वतारोहणसँग सम्बन्धित मुद्दा संसदमा उठाउने तयारी गरेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार ००:००  ११ : ०१ बजे