२४ मंसिर २०८०, आइतबार | Mon Dec 11 2023

नेपाल एयरलाइन्सले सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्‍यो ५५ करोड



नेपाल वायु सेवा निगमले कर्जा र ब्याज बापत सञ्चयकोष र नागरिक लगानी कोषलाई मंगलबार ५५ करोड ४० लाख रुपैयाँ भन्दा धेरै भुक्तानी गरेको छ।

कर्जा बापत सञ्चय कोषलाई ४३ करोड नौ लाख र नागरिक लगानी कोषलाई १० करोड भुक्तानी गरिएको निगमले जनाएको छ।

त्यसैगरी असारदेखि असोज मसान्तसम्मको व्याजबापत निगमले सञ्चयकोषलाई २ करोड ३२ लाख रुपैयाँ रुपैयाँ भन्दा धेरै भुक्तानी गरेको छ।

यसअघि निगमले असार ३१ गते सञ्चयकोष र नागरिक लगानी कोषलाई ऋण र ब्याज बापत ८३ करोड ९ लाख तिरेको थियो भने गएको चैतमा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ तिरेको थियो।

सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि निगमले जहाज खरिद गर्दा लिएको ऋण र त्यसको ब्याज सम्बन्धित निकायलाई तिर्न थालेको हो।

निगमको अर्थ विभागका उप निर्देशक दीपेन्द्र सुवेदीले सम्झौताको शर्त अनुसार लगाइएको ब्याज, हर्जना ब्याज र पेनल रकम छुट गरी सहयोग गरिदिन पनि नागरिक लगानी कोष र सञ्चयकोषलाई अनुरोध गरिएको जानकारी दिए।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ००:००  ९ : ०७ बजे