२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्यान्ड



प्रधानमन्त्री केपी ओली बैंकक (थाइल्यान्ड) र न्युयोर्क (अमेरिका)जाने भएका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय महासभा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा थाइल्यान्ड र संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जान लागेका हुन् ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलन सेप्टेम्बर ४ (१९ भदौ) मा थाइल्यान्डको बैंककमा हुँदै छ । नेपाल र थाइल्यान्डले बिमस्टेक सम्मेलनमा सहभागीपछि दुई दिन उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसहित प्रधानमन्त्री ओलीको भ्रमणलाई औपचारिक भ्रमण बनाउँदै छन् ।

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनको निमन्त्रणामा ओली जान लागेका हुन् । प्रधानमन्त्री भएपछि उनको पहिलो औपचारिक विदेश भ्रमण थाइल्यान्डबाट हुन लागेको हो । ‘प्रधानमन्त्री ओलीले सेप्टेम्बर ५ र ६ (२० र २१ भदौ)मा थाइल्यान्डमा उच्चस्तरीय औपचारिक वार्ता गर्नुहुने गरी कार्यक्रम तय भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नयाँ पत्रिकासँग भने ।

प्रधानमन्त्री ओलीले थाई नरेशसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । समकक्षी थाभिसिनसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालगायतसँग साइडलाइनमा वार्ता गर्ने गरी परराष्ट्रले गृहकार्य गरिरहेको छ ।

बिमस्टेकको चौथो शिखर सम्मेलन १४ र १५ भदौ ०७५ मा काठमाडौंमा भएको थियो जसको अध्यक्षता पनि प्रधानमन्त्री ओलीले गरेका थिए । बिमस्टेकको पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा ६ चैत ०७८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन २० फागुन ०७० मा म्यानमारमा भएको थियो भने दोस्रो सम्मेलन २८ कात्तिक ०६५ मा नयाँदिल्लीमा र पहिलो शिखर सम्मेलन १६ साउन ०६१ मा थाइल्यान्डमा भएको थियो । थाइल्यान्डले दोस्रोपटक शिखर सम्मेलन आयोजना गर्न लागेको छ ।

बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् । बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोडेको छ । यो क्षेत्रको जनसंख्या एक अर्ब ७३ करोड छ ।

सन् १९९७ जुन ६ मा बिमस्टेक स्थापना भएको थियो भने सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले बिमस्टेक बडापत्रमा ३० मार्च २०२२ मा हस्ताक्षर गरेका थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकको बडापत्र ७ जेठदेखि लागू भएको छ । स्थापनाको २७ वर्षपछि यो वर्ष बडापत्र लागू भएको हो ।

बिमस्टेकका सदस्य मुलुकबीच ऊर्जा, ग्रिड कनेक्टिभिटी, जलवायु परिवर्तन, स्वास्थ्य तथा खाद्य सुरक्षा, प्रविधिलगायतमा सहकार्य गर्ने सहमति हुँदै आएको छ । शुक्रबार आयोजित सुरक्षा मामिला प्रमुखहरूको बैठकमा पनि यी विषयमा सहकार्यको अपरिहार्यता दोहो¥याइएको बिमस्टेक सचिवालयले जनाएको छ ।

बिमस्टेकका सदस्य मुलुकहरूबीच आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी महासन्धि, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी समझदारीपत्र तथा बिमस्टेक सदस्य मुलुकका कूटनीतिक प्राज्ञिक-तालिमसँग सम्बन्धित निकायहरूबीच आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

#KP_Oli #PM_KP #Thailand

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ००:००  ८ : ४० बजे