चरिकोट । कालिञ्चोक भगवती मन्दिर व्यवस्थापन समितिले अर्थिङ, सोलार व्यवस्थापनपछि १० हजार धुपी र सुनपानीको विरुवा वृक्षारोपण गर्ने तयारी थालेको छ ।
कालिञ्चोक मन्दिर परिसरभित्रको अस्थाई घर टहरा व्यवस्थीत ढंगले हटाउन सफल भएपछि समितिले वृक्षारोपण गर्ने तयारी थालेको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार लामाका अनुसार पाँच हजार धुपी र पाँच हजार सुनपातीको विरुवा रोप्ने भएका छन् । अध्यक्ष लामाले १० हजार विरुवा रोप्ने विषयमा छलफल गरेर निर्णय गरिएको र आवश्यक तयारी थालिएको बताए ।
‘समितिले स्थानीयसँग समन्वय गरेर मन्दिर परीसरभित्रको घर टहरा हटायौं । यसपछि खालि रहेको जग्गामा वृक्षारोपणको लागि कार्ययोजना अघि सारेको हो,’ समितिका अध्यक्ष लामाले भने,‘कालिञ्चोकको संरक्षण, प्रवद्र्धन र प्राकृतिक भुवनोटलाई अझ सुन्दर बनाउने गरी काम थालेका छौं ।’
अहिले कालिञ्चोक क्षेत्रमा अर्थिङ समेत जडान गरिएको छ । यस्तै कालिञ्चोक केवलकारसँगको समन्वयमा सोलार लाईट जडानको कार्य सकिएको लामाले बताए ।
मन्दिर परिसरमा सिसी क्यामरा जडान, इन्टरनेटको सुविधा, अक्सिजनसहित स्वास्थ्यकर्मीको व्यवस्थापनलाई समितिले कार्य योजनाको रुपमाअघि सारेका छन् ।
समितिले मन्दिरमा कति दर्शनार्थी तथा पर्यटक भित्रिए यसको डेटा राख्नका लागि समेत काम गरिरहेको अध्यक्ष लामाले जानकारी दिए ।


