७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

युनाइटेड एयरलाइन्सले विमानभित्र इन्टरनेट चलाउने



अमेरिकी विमान कम्पनी युनाइटेड एयरलाइन्सले आफ्ना विमानमा स्टारलिंक इन्टरनेट चलाउने भएको छ।
कम्पनीले आगामी स्प्रिङ सिजन (वसन्त ऋतु)देखि विमानभित्र खर्बपति इलोन मस्कको स्टारलिंकका वाइफाइ सेवा प्रदान गर्ने भएको हो।

सीएनएनका अनुसार कम्पनीले फेब्रुअरीमा स्टारलिंक परीक्षण गर्नेछ। सुरुमा कम्पनीको इम्ब्रायर ई–१७५ विमानमा वाइफाइ सुरु गरिनेछ। २०२५ को अन्तिमसम्म आफ्ना दुई क्याबिनका क्षेत्रीय उडानमा स्टारलिंक जोड्नेछ।

आफ्ना सबै विमानमा स्टारलिंक उपलब्ध गराउने कम्पनीको तयारी छ। विमानमा उपलब्ध हुने इन्टरनेटबाट स्ट्रिमिङ सेवाहरु, किनमेल, गेमिङ र अन्य धेरै कुराहरु गर्न सकिनेछ। सेप्टेम्बरमा स्टारलिंक र युनाइटेड एयरलाइन्सले यसबारे सम्झौता गरेका थिए।

सेप्टेम्बरमै हवाइयन एयरलाइन्सले पनि आफ्ना एयरबसका विमानमा सबै यात्रुलाई वाइफाइ दिने घोषणा गरेको थियो। यसबाहेक जेएसएक्सले आफ्ना ४६ विमानमा स्टारलिंक उपलब्ध गराइरहेको छ। २०२३ को सुरुमै डेल्टा एयरलाइन्सले आफ्ना स्काईमाइल्स लोयल्टी कार्यक्रमका सदस्यलाई स्टारलिंक वाइफाइ दिने बताएको थियो। यता जेट ब्लु एयरवेजले सन् २०१७ देखि नै निःशुल्क वाइफाइ सुविधा दिइरहेको छ।

सन् २००३ यता उडानकै दौडान इन्टरनेट उपलब्ध हुँदै आएको छ। बोइङले कनेक्सन सर्भिस सुरु गरेको थियो तर सन् २००६ मा भने उक्त सेवा बन्द गरेको थियो।

#UnitedAirlines

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  ६ : ०२ बजे