काठमाडौं । हिड्नु स्वास्थ्यका लागि लाभदायक छ । द वाकर्स नामक समूह पनि यस्तै हिड्न रुचाउने साथीभाईहरु सम्मिलित एउटा समूह हो ।
खासगरी काठमाण्डौं उपत्यका भित्र “आफ्नो स्वास्थ्य आफ्नै हातमा” भन्ने नारा सहित ललितपुरको “प्रकृति प्रेमी समूह”ले विगत अधाई दशक अघिदेखि काठमाण्डौं वरपरका डॅाडाकॅाडाहरुमा हाइकिंङ नियमित रुपमा हाइकिंङ कार्यक्रम गर्दै आइरहेको छ ।
प्रकृति प्रेमी समूह नेपालमा हाइकिंङ कल्चर बसाल्ने एउटा अग्रणी संस्था हो । यहि संस्थाबाट प्रेरणा लिएर यहॅाबाट आयोजना हुने एकदिने हाइकिंग तथा वहुदिने ट्रेकिंङ कार्यक्रममा सम्मिलित हुंदै आएका केही साथीभाइहरु मिलेर नेपालमा हाइकिंङ एवं ट्रेकिंङ गर्ने कार्यलाई प्रोत्साहन गर्दै आन्तरिक प्रयर्टन प्रवर्द्धनलाई पनि थप टेवा पुर्याउने उद्देश्य सहित करीब १० वर्ष अघि सन् २०१५ मा “द वाकर्स” नामको समूह गठन भएको थियो ।

यस समूहका संस्थापक राजेश शर्मा बब सहित अहिले काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला समेत गरी ३० जना भन्दा बढी साथीभाई एवं दिदीबहिनीहरु सदस्यहरुका रुपमा वाकर टोलीको हाइकिंग कार्यक्रमहरुमा सहभागी हुंदै आइरहेका छन् ।
वाकर टोलीबाट विगत १० वर्षको अवधिमा काठमाण्डौं उपत्यका वरपरका गॅाउठॅाउहरुमा एकदिने हाइकिंग लगायत नेपालको हिमाली एवं पहाडी क्षेत्रहरुमा वहुदिने ट्रेकिंग कार्यक्रमहरु हुंदै आइरहेका छन् । दोलखाको च्छो रोल्पा ताल, मनाङको नार्फु भ्यालि एवं काङ्ला पास, गोरखाको मनास्लु सर्किट, खोटांग-भोजपुर हुंदै सोलुसम्म मुन्दुम ट्रेल, म्याग्दी हुंदै पूर्वी रुकुम गुर्जाखानी एवं ढोरपाटन, पश्चिम नेपालमा बडीमालिका, संखुवासभाको मकालु बरुण लगायत हालै मात्रै धादिंगको रुवि भ्यालि सम्मको वहुदिने ट्रेकिंग भ्याइसकेका छन् ।
अहिले हरेक महिनाको तेश्रो शनिवार द वाकर्सको नियमित रुपमै एकदिने हाइकिंग वा समय हेरी दुईहिने हाइकिंग गर्ने परम्परा नै बसेको छ । हाइकिंग कार्यक्रमकै दौरान पनि काठमाण्डौं उपत्यका लगायत आसपासका जिल्लाहरु मकवानपुर, धादिङ, चितवन, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखासम्मका थुप्रै गॅाउठॅाउहरु पुगेका छौं । अहिले विभिन्न ठॅाउहरुबाट वाकर टोलीलाई गॅाउठॅाउहरु घुम्न अनुरोध र निम्नत्रणा समेत आउने गरेका छन् ।

द वाकर्स अर्थात् वाकर टोली अहिलेसम्म एउटा अनौपचारिक समूहकै रुपमा संचालन हुंदै आएको छ । यसमा सदस्य हुने कुनै निश्चित मापदण्डहरु टोकिएको छैन । खासगरी हिड्न रुचाउने र हिड्न सक्ने साथीहरु सहभागी हुंदै आइरहेका छन् । विशेष गरी फरक परिवेश, नौला गन्तव्य र अझ साहसिक रुटहरु हिड्नको लागि वाकर टोलीको छनौटमा पर्ने गरेका छन् ।