सुगत शाक्य
चेपाङ जाति नेपालको आदिवासी जनजातिहरु मध्ये पनि एउटा पिछडिएको समुदाय हो । प्राय चेपाङ जातिका मानिसहरु मध्य नेपालको महाभारत पर्वत श्रृखंला आसपासका पडाडी क्षेत्रहरुमा बसोबास गर्छन् । त्यस मध्ये चितवन जिल्लाको सबैभन्दा अग्लो डॅाडा सिराइचुलि (१९४५ मी.) र सो आसपासका चेपाङ गॅाउहरु भई जाने परम्परागत पैदल मार्गलाई अहिले चेपाङ हेरिटेज ट्रेलको नामले प्रबर्द्धन गर्न थालिएको छ । हरेक महिना नियमित हाइकिंङ गर्दै आएको काठमाण्डौंको द वाकर्स समूहको यसपटक दुईदिने चेपाङ हेरिटेज ट्रेल पदयात्राको कार्यक्रम बनेको थियो ।
माघ महिनाको तेश्रो शनिवार विहान सबेरै वाकरका साथीहरुसंगै काठमाण्डौंको कलंकीमा भेला भयौं । पदयात्राका दौरान हिड्ने रुट सहित खानेबस्ने ठॅाउहरु लगायत सबै व्यवस्थापन वाकरका संस्थापक एवं संयोजक राजेश शर्मा बब (सबैले माया गरी बोलाउने नाम ‘बबसर’) जीले मिलाईसक्नु भएको थियो । १७ जनाको हाम्रो टोली विहानको १० बजेतिर पृथ्वी राजमार्गको हुग्दी खोलामा आइपुग्यौं । यहिको एक स्थानिय होटलमा विहानको खाना पश्चात हाम्रो पैदल यात्रा शुरु भयो । चेपाङ हेरिटेज ट्रेलको प्रस्थान विन्दु हो हुग्दी खोला । हुन त अहिले यहॅाबाट माथि गॅाउसम्म्मै पुग्ने कच्ची मोटरबाटो पनि पुगिसकेको छ ।

तर हाम्रो उद्देश्य हिड्ने नै भएकाले पुरानो परम्परागत पैदलमार्ग पछ्याउंदै चेपाङ र मगरहरुको रमाइला गॅाउ बस्तिहरु हुंदै माथि उक्लियौं । बाटो अत्यन्तै रमाइलो रहेछ । हुग्दि खोलाबाट जोगिमारा, धर्मशाल, गैरिगाँउ, लैताक, तल्लो फुन्द्रि, माथिल्लो फुन्द्रि, खोर भन्ज्याङ, जयपुरी, रन्दन, कोट भन्ज्याङ, मर भन्ज्याङ जस्ता साना साना गॅाउबस्तिहरु पार गर्दै ५ घण्टा माथि उक्लेपछि आइपुग्यो हात्तिबाङ गॅाउ । समुन्द्री सतहबाट १४०० मी. उचाईमा रहेको मगर तथा चेपाङहरुको बसोवास रहेको एउटा रमाइलो गॅाउ हो हात्तिबाङ । यहॅा रहेको सिराइचुलि रामजी होमस्टेमा हाम्रो खाना तथा बासको बन्दोबस्त मिलाइएको थियो । बेलुका होमस्टेमा आगो टाप्दै, नाचगानमा रमाउंदै हिडाइको थकान मेटायौं ।
भोलिपल्ट विहान होमस्टेमै नास्ताको रुपमा कोदोको रोटी र स्थानिय परिकारहरु चाख्ने अवसर पायौं । नास्ता पश्चात होमस्टेबाट विदा हुंदै हामी चितवन जिल्लाको सबैभन्दा अग्लो पहाड सिराईचुली पिक (१९४५ मीटर) तर्फ उक्लियौं । सिराइचुलिको फेदसम्मै अहिले सडकको ट्रयाक खुलिसकेको रहेछ । मोटरबाइक वा सवारीसाधनबाट आउनेहरु फेदमा रोकेर आधा घण्टा उक्लेर सिराईचुलि पुग्न सकिन्छ । हामी भने हात्तिबाङबाटै पैदल हिडेकाले सिराइचुलिको टुप्पो पुग्न डेढ घण्टा लाग्यो । रमणीय ठॅाउ हो सिराईचुलि डॅाडा । यहॅाबाट चारैतिर रमाइलो दृश्यावलोकन गर्न सकिन्छ ।

उत्तरतिर धौवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुंग, मनास्लु, गणेश हिमाल देखि लांगटांग, दोर्जेलाख्पा, गौरीशंकर सम्मका हिमशृंखलाहरु देखिन्छ । दक्षिणतिर भरतपुर शहर लगायत भित्री मधेश र तराईका भुभागहरु देख्न सकिने भएतापनि हामी पुगेको बखत बाक्लो हुसु र शीतलहरका कारण केही देखिएन । केहीबेर फोटो खिच्दै प्राकृतिक दृश्यावलोकनमा रमाउंदै सिराईचुलिमा समय बिताएपछि हामी दक्षिणतर्फ अर्कै बाटो हुंदै ज्यान्दाला गॅाउतिर ओर्लियौं ।
ज्यान्दाला गॅाउ चेपांग जातिको बसोबास रहेको एउटा गॅाउ । गॅाउमा चेपाङहरुका परम्परागत एक तल्ले स-साना घरहरु सहित खेतबारी र गोठहरुमा देख्न सकिन्छ । वनजंगल र प्रकृतिसंग नजिक बस्न रुचाउने चेपाङहरु मुख्य रुपमा खेतिपाति र पशुपालन गर्छन् । हाम्रो विहानको खाना यहि रहेको एउटा सानो पसलमा मिलाएका थियौं । हामीसंग खानाको लागि धेरै समय नभएकाले चेपाङनि दिदीले साग र अण्डा मिसाई मीठो चाउचाउ पकाइदिनु भयो । आजै काठमाण्डौं फर्किने योजना रहेकाले हतार हतारमा खाना खाई हामी ज्यान्दालाबाट दिउॅसो साढे बाह्र बजेतिर चितवनको शक्तिखोर ओर्लिने तरखरमा लाग्यौं ।

ज्यानदालाबाट शक्तिखोरतिर ओर्लिने पैडल बाटो अत्यन्तै भिरालो रहेछ, त्यसमाथि भीरैभीर सॅाघुरो बाटो हुंदै तल ओर्लिदा एकदमै सम्हालिएर हिड्नु पर्छ । कतै कतै त भीर देख्दा खुट्टा कमाउने खालको बाटो छ । भीरको बाटो हुंदै तल ओर्ले पछि राजवन भन्ने गॅाउ पु्गिन्छ तर अझै ओर्लिन भने बॅाकी नै थियो । राजबन गॅाउसम्म अहिलेपनि बिजुली पुगिसकेको रहेनछ, भर्खरै बिजुली ल्याउन पोलहरु गाड्ने काम हुंदै थियो । गॅाउको माथि पट्टी सडकको ट्याक खुले पनि हिड्ने बाटो भने त्यति सहज थिएन । भिरालो, सॅाघुरो धुलाम्मे बाटो भई गॅाउलेहरु ओहोर दोहोर गर्नुपर्ने बाध्यता छ ।
गॅाउमा केही घरहरुमा मौरीपालन पनि गरिएको रहेछ । मह चाख्दै केही साथीहरुले ताजा मह किन्न पनि भ्याए । राजवनबाट ओर्लिएर भ्युरान हुंदै बल्ल दिउंसो ४ बजेतिर हामी शक्तिखोर बजार आइपुग्यौं । चितवन जिल्लाको भित्री मधेशको समथर भुभाग र अग्ला पडाडहरुको फेदमा रहेको शक्तिखोर बजारमा हाम्रो दुई दिनको पैदल यात्रा सम्पन्न भयो । अघि नै तल पुगिसकेका साथीहरुले काठमाण्डौ फर्किनको गाडी बन्दोबस्त मिलाईरहनु भएको थियो । केहीबेर चियाखाजा खाई आराम गरेपछि हामी गाडीबाट चितवनको रत्ननगर, भरतपुर हुंदै राति अबेर काठमाण्डौं आइपुग्यौं ।




#TheWalkers #Chepangheritage #Sugatshakya