डोल्पा आफैमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य हो । डोल्पा क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा डोल्पा फैलिएको छ ।
तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ । ११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । त्यस्तै झन्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् ।
डोल्पाको प्राकृतिक सुन्दरता र मौलिक धार्मिक परम्परा हेर्न र अध्ययन गर्न हरेक वर्ष हजारौं पर्यटक डोल्पा पुग्ने गरेका छन् ।
यहाँको भू बनोट, प्राकृतिक सुन्दरता र वातावरणले आम आगन्तुकको मन मस्तिकषलाई सहजै तान्ने गरेका छन् । यस कारण आम पर्यटकहरुले डोल्पाको पदयात्रा गर्न रुचाउँछन् ।












