लप्ची पुग्ने रहर धेरैपटक थियो । तर यात्रा कहिले र कसरी हुने भन्ने चाहिँ निश्चित थिएन । एकदिन अचानक, ‘लप्ची जान्छौं।’ भने पछि नाइ भन्ने कुरै भएन । को–को जाने भन्ने पनि खुलेको थिएन। तर मिलारेप्पाको तान्त्रिक ध्यान केन्द्र लप्ची जाने योजना बनेपछि मन झन् प्रफुल्ल बन्यो ।
यात्रा मेरो लागि केवल घुमघाम मात्र थिएन । यसपटकको गन्तव्य धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि विशेष थियो । अग्रज पत्रकार र धर्मगुरुहरूले खिचेका तस्बिर, भिडियो र लप्चीको महिमा सधैं मलाई आकर्षित गर्थे। लप्चीको माटोप्रतिको श्रद्धा र आस्थाले यो यात्रालाई अझ गहिरो बनाउने छ । संसारभरिका साधकहरूको पवित्र पाइला पुगेको स्थानमा पाइला टेक्ने अवसर पाउनु, मेरो लागि पहिलो थियो।
पुर्व सञ्चारमन्त्री पार्वत गुरुङको फोन यिथो, ‘लप्ची जान्छौं।’ अनि सुरु भयो चरिकोटदेखि सिङटी, लामाबगर हुँदै लप्चीसम्मको यात्रा।
पहिलो बास : लामाबगर
दिन ढल्किँदै थियो । हामी सबैजना ‘किस्मत होटल’ चरिकोटमा भेला भयौं। मन्त्री गुरुङले भ्रमणको उद्देश्य स्पष्ट पार्नुभयो–चीनसँग सीमा जोडिएको लप्ची फलाक नाकासम्मको अध्ययन यात्रा । टोलीमा एमाले र कांग्रेसका नेताहरू, नेपाल टेलिकम, सडक डिभिजन, सरकारी निकायका प्रतिनिधि, पत्रकारसमेत सहभागी थिए।

लामाबगर ऐतिहासिक क्षेत्र हो, जुन लामाहरुको ‘किपट भूमि’को रूपमा परिचित छ। यहाँ २०० वर्षअघिको तालको किंवदन्ती पाइन्छ। अहिले भने अपर तामाकोशी ड्याम, साना होटल र पावर हाउसहरू छन्।
हामीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जिव ओली र वडा अध्यक्ष मेम्बा तामाङले स्वागत गर्नुभयो। दुगड हाइड्रोका कर्मचारीले उत्कृष्ट व्यवस्थापन मिलाइदिए। खाना खाएर विश्राम गर्यौं।
सुरुङ, खोलाको गर्जन र भीरको बाटो
भोलिपल्ट बिहानै यात्रा सुरु गर्ने योजना थियो । सबैजना तोकिएको समयमा उठ्न खोज्यौं। हाइड्रोको क्यान्टिनमा तामाङ दाई र दिदीले रोटि बनाइरहेका थिए, मैलै दुई थान मागेर बोकेँ। तामाङ समुदायसँग संवाद रमाइलो लाग्यो।
यात्रा लामा बगरबाट सुरु भयो। मौषम चिसो थिएन, तर न्यानो कपडा अनिवार्य थियो। रोल्वालिङ हाइड्रोको सुरुङ, अपर तामाकोशी ड्याम र लामा बगरको सुन्दर दृश्य आँखाभरि भर्यौं।

भीर छिचोल्दै हामी पुग्यौं, खरानी खोला । यो क्षेत्रमा ११ सय मिटर लामो सुरुङ दुगड हाइड्रोले बनाएको रहेछ । विकासको प्रशंसनीय उदाहरण । क्यामराले कैद नगरेका दृश्य आँखाले देख्दा अझ गहिरो अनुभूति दिन्छन्।
हाम्रो टोली भीरै–भीरको बाटो हुँदै जोम खोला पुग्यो। बाटो साँघुरो र जोखिमपूर्ण थियो। तर, लप्चीको मोहले डरलाई दबायो।
ट्याक्टर, पदयात्रा र प्रकृतिको स्वागत
काठको भर्याङ पार गरेर ट्याक्टर चढ्ने बाटो भेट्यौं। यो ठाउँमा ट्याक्टर देख्दा सबै छक्क परे। बर्मा लामाको अनुहार झलमल थियो । किनकि उहाँलाई पैदल यात्रा कठिन थियो।

ट्याक्टर चढेर केही समयपछि हामीले पदयात्रा सुरु गर्यौं। खोलाको किनारै–किनार हिँड्यौं। बोटबिरुवाको सुस्केरा, हावाको स्पर्श र खोलाको कलकल बगिरहेको ध्वनिले हामीलाई स्वागत गरिरहेको अनुभूति भयो।
कहिलेकाहीँ भूक्षय, पहिरो र जलवायु परिवर्तनका असर देखिन्थे। लप्ची नजिकिँदै जाँदा यी संवेदनशील विषयहरू थप गहिरो बन्दै गएको देखियो ।
गाइड नर्बु तामाङले भने, ‘दाइ, लप्ची देखियो।’ थकानबीच पनि ऊर्जा थपियो। खोलाको किनारमा सुनजस्तै झल्किने ढुंगाहरू र पुलमाथिको दृश्य अविस्मरणीय रह्यो।
लप्ची: अध्यात्मको केन्द्र, विस्मयको धरोहर
लप्ची गुम्बाको छेउछाउ पहिरोले क्षति पु¥याएको रहेछ। मैले माटो छोएँ, ढोग गर्यौं र गुम्बाको दर्शन गर्यौं। हिमालको न्यानो मुस्कानले आत्मा पुलकित बनायो । लगभग ४० जनाको टोलीलाई व्यवस्थापन गर्न कर्मा शेर्पा र अध्यक्ष सञ्जिव ओलीको भूमिका प्रशंसनीय रह्यो।

त्यो रात मिठो खाना खाएर विश्राम गर्यौं। तर नयाँ ठाउँको कारण निन्द्राले चाँडै छाड्यो।
फलाक नाका र ध्यानकेन्द्रमा शान्ति
बिहान उज्यालो हुँदै जाँदा चराहरु कराउन थाले । पार्वत गुरुङको नेतृत्वमा टोली तयार भयो। सातु र आलु खाएर हामी फलाक नाका पुग्ने तयारीमा थियौं। तर, समय अत्यन्तै कम थियो ।
यहाँ इन्टरनेट र टेलिफोन सेवा छैन। प्रविधिबाट टाढा भएर प्रकृतिसँग सामिप्यको अनुभव मिल्छ । यही कारण लप्ची विश्वकै ध्यान केन्द्र बनेको छ। पहराका छातीभित्र बनाइएको ध्यानकेन्द्रमा सयौँ विदेशी साधकहरू रहेका छन्। लप्ची चीनको तीनतिर सीमाना जोडिएको संवेदनशील क्षेत्र हो।

यहाँको रेछेन शेर्पा दोर्जे गुम्बा झन्डै ८१० वर्ष पुरानो हो। मिलारेप्पाले ध्यान गरेर सिद्धि प्राप्त गरेको यो स्थान अहिले पनि साधना गर्ने स्थलका रूपमा विश्वप्रसिद्ध छ। तर, यहाँका स्थानीयहरू राज्यबाट टाढा छन्। भाषा, प्रविधि र पहुँचमा अझै अभाव छ। उनीहरूको दुःख, निर्भरता र विस्थापनलाई बुझ्ने प्रयत्न राज्यले अझै गर्न सकेको छैन।
निष्कर्ष :
लप्ची यात्रा मेरो लागि एउटा साधारण घुमघाम थिएन, त्यो रहर, रोमाञ्च र आत्मिक खोजको संगम थियो । यहाँको हावामा अध्यात्म छ, माटोमा श्रद्धा, र यात्रामा चेतना ।

















